समाचार आइतबार, साउन १८, २०७७

ज्वरो बाहेकका अन्य लक्षण देखिए पनि कोरोना परीक्षण गर्न पाइने

हिमालखबर

ज्वरो बाहेकका अन्य लक्षण देखिए पनि कोरोना परीक्षण गर्न पाइने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणसम्बन्धी नयाँ निर्देशिका जारी गरेको छ। 

मुलुकमा कोरोना संक्रमणको जोखिम बढी रहेका बेला सरकारले पुरानो निर्देशिका अनुसार परीक्षण गर्दा जोखिममा रहेका सबैको कोरोना जाँच हुन नसकेको भन्दै विरोध हुँदै आइरहेको थियो।

नयाँ जारी निर्देशिकामा ज्वरो आएमा वा स्वास फेर्न कठिन भएमा वा स्वाद थाहा पाउने क्षमता गुमाएमा वा गन्ध पाउने क्षमता गुमाएमा वा झाडा पखाला लागेमा कोरोना परीक्षण गर्न सकिने उल्लेख छ।

यसअघिको निर्देशिकामा अन्य जुनसुकै लक्षण देखिए पनि ज्वरो नआई कोरोना परीक्षण गर्न नपाइने व्यवस्था थियो। तर अब ज्वरो नआए पनि अन्य कुनै एक लक्षण देखिएको आधारमा कोरोना परीक्षण गर्न पाइने भएको छ।

नयाँ निर्देशिका अनुसार कोरोना संक्रमितको सम्पर्कमा पुगेका सबैको कोरोना परीक्षण गर्न मिल्ने व्यवस्था मिलाइएको छ। तीब्र स्वासप्रस्वाससम्बन्धी रोगका सबै गम्भिर बिरामी, स्थल र हवाईमार्गबाट नेपाल भित्रिने सबै यात्रुको पनि कोरोना परीक्षण गरिदैँ छ।

यस्तै स्वास्थ्यकर्मीसहित सबै फ्रन्टलाइनमा खट्ने कामदारको पनि कोरोना परीक्षण गर्ने गरी नयाँ निर्देशिका जारी भएको छ। १४ दिनभित्र कोरोना संक्रमणबाट प्रभावित जिल्लाबाट फर्किएका सबैको कोरोना परिक्षण गरिने नयाँ निर्देशिकामा उल्लेख छ।

नयाँ निर्देशिका अनुसार आईसियूमार्फत उपचार गर्ने सबै बिरामी, ६० वर्ष माथिका दिर्घ रोगी र शल्यक्रिया गर्ने बिरामीको पनि कोरोना परीक्षण गरिनेछ।

तर शल्यक्रिया गर्ने बिरामीलाई चिकित्सकको निर्णयको आधारमा पीसीआर परीक्षण गरिने निर्देशिकामा उल्लेछ। संक्रामक रोग तथा आईसियू रोग विशेषज्ञ डा. प्रभात अधिकारी स्वास्थ्य मन्त्रालयले कोरोना परिक्षणको दायरा बढाउने गरी जारी गरेको निर्देशिका स्वागतयोग्य रहेको बताएका छन्।

डा. अधिकारी पछिल्ला दिनहरुमा मुलुकमा कोरोना संक्रमितहरुको संख्या बढीरहेको अवस्थामा नयाँ निर्देशिकाले शंकास्पद व्यक्तिमा कोरोना भए वा नभएको पत्ता लगाउन सहयोग पुर्‍याउने बताउँछन्।

स्वास्थ्य मन्त्रालयले सोही निर्देशिकामार्फत एन्टीजिनमा आधारित र्‍यापिड डायग्नोष्टिक टेष्ट विधिलाई समेत प्रयोगशमा ल्याउने जनाएको छ।

यस्तै नयाँ निर्देशिकामा कोरोनाका संक्रमित व्यक्तिको निगरानी तथा अनुसन्धान गर्ने प्रयोजनका लागि सेरोलोजी परिक्षण विधि प्रयोगमा ल्याइने उल्लेख छ। सेरोलोजी अन्तर्गत इलाइजा विधिलाई प्रयोगमा ल्याउने मन्त्रालयको तयारी छ।

समुदायमा कोरोना भाइरसको संक्रमण फैलिए वा नफैलिएको पत्ता लगाउन इलाइजा विधि प्रयोग गर्ने गरिएको छ। इलाइजा विधि अन्तर्गत शंकास्पद व्यक्तिको शरिरमा कोरोना भाइरस विरुद्ध लड्ने एन्टीबडी बने वा नबनेको थाहा हुन्छ।

प्रतिकृया दिनुहोस