समाचार आइतबार, साउन १८, २०७७

भारतको राज्यसभा सांसद अमर सिंहको निधन

हिमालखबर

भारतको राज्यसभा सांसद अमर सिंहको निधन

भारतको राज्यसभा सांसद अमर सिंहको शनिबार निधन भएको छ। उपचारका क्रममा ६४ वर्षीय सिंहको सिंगापुरस्थित एक अस्पतालमा निधन भएको हो।

उनी ६ महीनादेखि सिंगापुरमा मिर्गौलाको उपचार गराइरहेका थिए। निधन हुनुभन्दा दुई घन्टाअघि उनले ट्विट गरेका थिए। उनका दुई ट्विटमध्ये एउटामा ईदको शुभकामना दिएका थिए। अर्कोमा स्वतन्त्रता सेनानी बाल गंगाधर तिलकको पुण्यतिथिका अवसरमा श्रद्धान्जली दिएका थिए।

उनी समाजवादी पार्टीका नेता मुलायम सिंह यादव र अभिनेता अमिताभ वच्चनसँग नजिक थिए। उत्तर प्रदेशको आजमगढमा जन्मिएका सिंह समाजवादी पार्टीका महासचिव पनि भएका थिए। त्यति वेला मुलायम सिंह अध्यक्ष थिए।

तर, उनलाई समाजवादी पार्टीले दुईपटकसम्म निष्कासन गरेको थियो। सन् २०१० मा उनलाई पहिलो पटक समाजवादीले सबै पदबाट बर्खास्त गरेको थियो। त्यसपछि उनले उत्तर प्रदेशको पूर्वाञ्चललाई छुट्टै राज्य बनाउनु पर्ने माग गर्दै राष्ट्रिय लोक मञ्च बनाएका थिए। उनको पार्टीले निकै ठूला सभा पनि गरेको थियो।

२०१२ को विधानसभा चुनावमा लोक मञ्चले उत्तर प्रदेशको ४०३ सिटमध्ये ३६० सिटमा आफ्ना उम्मेद्वार पनि उठाएका थिए। तर, उनको पार्टीले कुनै सिट जित्न सकेन।

त्यसपछि उनी मार्च २०१४ मा राष्ट्रिय लोकदलमा प्रवेश गरे। त्यही साल भएको आम चुनावमा फतेहपुर सीकरीबाट उम्मेद्वार बने पनि हारेका थिए। सन् २०१६ मा भने राज्यसभाका लागि स्वतन्त्र उम्मेद्वार भएका उनलाई समाजवादी दलले नै समर्थन गरेपछि विजयी भएका थिए।

त्यसपछि मुलायमसिंह यादवको ठाउँमा उनकै छोरा अखिलेश यादव समाजवादी अध्यक्ष र मुख्यमन्त्रीसमेत भए। यादव परिवारमा झगडा शुरु भएपछि उनलाई अखिलेशले सन् २०१७ मा फेरि पार्टीबाट निस्कासन गरेका थिए। उनलाई झगडा चर्काएको आरोप लगाइएको थियो।

उनी उत्तर प्रदेशको अलीगढका उद्योगपति थिए। उनले कांग्रेसबाट आफ्नो राजनीति शुरु गरेका थिए।

प्रतिकृया दिनुहोस