भारतमा लगातार तेस्रो दिन ५४ हजारभन्दा बढी संक्रमित फेला
भारतमा लगातार तेस्रो दिन शनिबार ५४ हजारभन्दा बढी कोरोनाभाइरस संक्रमित फेला परेपछि संक्रमितको कुल संख्या १७ लाख नाघेको छ। त्यहाँ अहिलेसम्म १७ लाख ५१ हजारभन्दा बढी संक्रमित भएका छन्।
संक्रमणमुक्त हुनेको संख्या पनि शनिबारसम्ममा ११ लाख नाघेको छ। त्यहाँ अहिलेसम्म ११ लाख ४६ हजार ८२८ संक्रमित निको भएका छन्। पछिल्लो २४ घन्टामा अहिलेसम्मकै सबैभन्दा धेरै ५१ हजार १८१ संक्रमित निको भएको भारतको स्वास्थ्य मन्त्रालयलाई उधृत गर्दै दैनिक भाष्करले जनाएको छ।
कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३७ हजार ४०३ पुगेको छ। शनिबार ८५२ जनाको मृत्यु भयो। तर, केन्द्रिय स्वास्थ्य मन्त्रालयले भने शनिबार मात्र देशमा कोरोनाभाइरस संक्रमण मृत्युदर लगातार घटिरहेको जनाएको थियो। बन्दाबन्दीमा मृत्युदर ३.३५ प्रतिशत रहेकोमा अहिले घटेर २.१५ प्रतिशतमा आएको जनाइएको छ।