समाचार आइतबार, साउन १८, २०७७

एक हजारको नेपाली नोट फोटोकपी गरेर कारोबार गर्ने एकजना पक्राउ

हिमालखबर

एक हजारको नेपाली नोट फोटोकपी गरेर कारोबार गर्ने एकजना पक्राउ
फाइल तस्वीर।

प्रहरी नेपाली नोट फोटोकपी गरेर कारोबार गर्ने एक जनालाई काठमाडौंबाट पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका-३१ शान्तिनगरस्थित नोगेन्द्र कान्छा चोकबाट स्याङ्जाका नारायण पौडेललाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीले स्याङ्जा चापाकोट नगरपालिका-५ का पौडेलको साथबाट १ हजार दरको १० वटा नक्कली नेपाली नोटसहित शुक्रबार पक्राउ गरेको जनाएको छ।

पौडेलको सुविधा स्टेशनरीभित्र नक्कली नोट फोटोकपी गरी प्रयोगमा ल्याउने गरेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बानेश्वरबाट अनुसन्धानमा खटिएको टोलीले उनलाई फोटोकपी गर्दै गरेको अवस्थामा फेला पारेको जनाएको छ।

स्टेशनरीबाट कलर प्रिन्टर १ थान, सक्कली एक हजार दरको नोट १ थान समेत प्रहरीले बरामद गरेको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रतिकृया दिनुहोस