कोरोना अपडेट: १५ दिनको अन्तरमा सुदूरपश्चिमको तुलनामा प्रदेश–२ मा सक्रिय संक्रमित बढे
पछिल्लो १५ दिनमा सुदूरपश्चिम प्रदेशभन्दा प्रदेश-२ मा सक्रिय संक्रमितको संख्या धेरै देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको तथ्यांक अनुसार प्रदेश-२ मा कोरोनाका सक्रिय संक्रमितको सबैभन्दा धेरै देखिएको हो।
मन्त्रालयको तथ्यांक अनुसार १७ साउनसम्ममा प्रदेश–२ मा २०६६ जना कोरोनाका सक्रिय संक्रमित छन्। उनीहरू सबैको आइसोलेसनमा राखेर उपचार भइरहेको छ।
कोरोनाका सक्रिय संक्रमितको संख्या सबैभन्दा कम प्रदेश–१ मा २२५ छ। प्रदेश–२ पछि कोरोनाका सबैभन्दा धेरै कोरोना संक्रमितको संख्या सुदूरपश्चिम प्रदेशमा छन्। सुदूरपश्चिम प्रदेशमा १६५७ जना सक्रिय संक्रमित छन्।
यसपछि बागमती प्रदेशमा कोरोनाका सक्रिय संक्रमितको संख्या ५७५ छ। कोरोनाका सक्रिय संक्रमितको संख्या प्रदेश–५ मा ३८७, गण्डकी प्रदेशमा ३१३ र कर्णाली प्रदेशमा २९७ छ। यसरी मुलुकभर शनिबारसम्ममा कोरोनाका कुल सक्रिय संक्रमितको संख्या ५५३८ छ।
९ साउन सम्ममा मुलुकमा कोरोनाका सक्रिय संक्रमितको संख्या ५३८३ थियो। त्यसमध्ये प्रदेश–२ मा सबैभन्दा बढी १९०१ संक्रमित थिए भने सुदूरपश्चिम प्रदेशमा १८९८ थियो।
स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार २ साउनसम्ममा मुलुकमा कोरोनाका कुल सक्रिय संक्रमितको संख्या ५८७१ थियो।
यीमध्ये सबैभन्दा बढी कोरोनाका सक्रिय संक्रमितको संख्या सुदूरपश्चिम प्रदेशमा थियो। सुदूरपश्चिम प्रदेशमा २ साउनसम्ममा २३३८ कोरोनाका सक्रिय संक्रमित थिए। यसपछि प्रदेश–२ मा कोरोनाका सक्रिय संक्रमितको संख्या १८८६ थियो। त्यतिबेला कारोना सक्रिय संक्रमितको संख्या सबैभन्दा कम प्रदेश–१ मा ७१ मात्रै थियो।
मन्त्रालयले २ साउनमा सार्वजनिक गरेको तथ्यांकको तुलनामा १७ साउनमा सार्वजनिक गरेको तथ्यांक अनुसार कोरोनाका सक्रिय संक्रमितको संख्यामा सुदूरपश्चिम भन्दा प्रदेश–२ मा बढी देखिएको छ। यो तथ्यांकले प्रदेश–२ कोरोना संक्रमणको हिसाबले उच्च जोखिममा रहेको देखाउँछ।