समाचार आइतबार, साउन १८, २०७७

सम्पादकको सिफारिश : सात दिन, १४ सामग्री

हिमालखबर

सम्पादकको सिफारिश : सात दिन, १४ सामग्री

११ चैतदेखि शुरु कोभिड-१९ विरुद्धको बन्दाबन्दी लगत्तै साप्ताहिक 'हिमाल खबरपत्रिका'ले आफ्नो छापा संस्करण स्थगन गरी अनलाइन पोर्टल मार्फत अझ बढी सक्रिय, सचेत, सत्य र विश्वसनीय पत्रकारिता अभ्यासको प्रयत्न गरिरहेको छ। 'सम्पादकको सिफारिश: सात दिन १४ सामग्री' त्यसैमध्येको एक साप्ताहिक स्तम्भ हो, जसमा हामी बितेको साताका उल्लेख्य घटना, सर्वाधिक पढिएका र पढिनुपर्ने समाचार, विचार, विश्लेषणलाई समयक्रम अनुसार प्रस्तुत गरिरहेका छौं। हिजोका यी सामग्रीहरुप्रतिको तपाईंको आजको मूल्यांकनले भोलिको आकलन गर्न सहज हुने हाम्रो विश्वास छ।

१. हामीले जथाभावी फ्याँक्ने प्लाष्टिकका कारण डुबानमा पर्दैछन् शहरहरु

केन्द्रीय तथ्यांक विभागले भर्खरै सार्वजनिक गरेको राष्ट्रिय आर्थिक गणना अनुसार, देशभरिमा करीब ५ लाख थोक र खुद्रा व्यापार गर्ने व्यवसाय छन्। प्रतिव्यवसायले दैनिक औसतमा २० वटा मात्रै प्लाष्टिकको प्रयोग गर्दा पनि देशभरिमा दैनिक प्लाष्टिकको प्रयोग १ करोड नाघ्छ। शहरहरुमा बाढी र डुबानको जोखिम दीर्घकालीन रूपमा घटाउन प्लाष्टिक सहितका ठोस फोहोरमैलाको उचित व्यवस्थापन अनिवार्य शर्त हो। - रमेश कुमारको रिपोर्ट।


२. रञ्जन कोइरालालाई सजाय छुट दिने सर्वोच्चको फैसला पुनरावलोकन हुने

सर्वोच्च अदालतले पत्नी हत्यामा दोषी ठहर रञ्जन कोइरालाको जन्मकैद घटाउने आफ्नै फैसला पुनरावलोकन गर्ने भएको छ। न्यायाधीशहरु बमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको इजलासले कोइरालाको जन्मकैदको सजाय ८ वर्ष ६ महीनामा झार्ने सर्वोच्च अदालतको १५ असारको फैसलालाई पुनरावलोकन गर्ने फैसला गरेको हो। उक्त फैसला नजिर विपरीत  भन्दै पुनरावलोकन निवेदन परेको थियो।

३. बालयौन शोषणमा परेकी रचनाको गीत नर्वेजियन ब्याण्डसँग, भन्छिन् – गीतमार्फत पीडालाई शक्तिमा बदलें 

ललितपुरको एक विद्यालयमा कक्षा ३ मा पढ्दा नै शिक्षकद्वारा यौनशोषणमा परेकी रचना दाहाल संगीत मार्फत आफ्नो पीडा अभिव्यक्त गर्ने योजनामा छिन् । उनले हालैमात्र नर्वेको भायोलिन ब्याण्डसँग भर्चुअल गीत रेकर्ड गराई यूट्युबमा सार्वजनिक पनि गरेकी छन्, जसको प्रशंसा भइरहेको छ । २२ वर्षीया रचनाको संघर्षलाई सलाम!

 ४. रारा तालमा भुइँफूलको शृंगार (तस्वीरहरू)

कर्णाली प्रदेशको मुख्य पर्यटकीय स्थल मुगुको रारा तालले मौसम अनुसार सुन्दरताको रङ फेर्छ। हिउँद याममा हिउँले सेताम्मे हुने ताल जेठदेखि भदौसम्म रंगीबिरंगी फूलले सजिएको हुन्छ। ताल किनारमा भुइँफूल यति ढपक्क ढाकिएको हुन्छ, यसले तालको सुन्दरतामा अझै शृंगार थप्छ। - अच्युत भण्डारीको फोटोफिचर। 


 ५. नयाँ मोडमा नेकपाको संकट: शुरु भो दुई पार्टीको झल्को दिने अभ्यास

प्रधानमन्त्री बनेपछि अरुको दैलो टेक्नै छाडेका ओली आखिर मंगलबार साँझ अचानक पारिवारिक भेटघाटका निम्ति भन्दै उपाध्यक्ष गौतम निवास किन पुगे? त्यसै दिन बिहान गौतमले ६ बुँदे प्रेस नोट जारी गरेर ओलीको राजीनामाको विपक्षमा (वामदेव गौतमको प्रस्ताव– ओली एकता महाधिवेशनसम्म अध्यक्ष, पाँच वर्ष प्रधानमन्त्री) उभिएको प्रष्ट संकेत गरेका थिए। यसका पछाडि शक्ति संघर्ष चुलिएको नेकपामा मंगलबार विकसित केही गम्भीर घटनाक्रमको भूमिका छ, जसले ओलीलाई गौतम निवास पस्न बाध्य तुल्याए। झट्ट हेर्दा पुरानै विवादको निरन्तरता जस्तो देखिए पनि मंगलबारका घटनाक्रमले सत्तारुढ नेकपाभित्र दुई भिन्न पार्टीको अभ्यास शुरु भएको देखाउँछन्। - सइन्द्र राईको रिपोर्ट।

६. देश कृषिप्रधान, कृषि वस्तु आयात गर्न एक वर्षमै विदेशियो रु.२ खर्ब ४३ अर्ब

सरकारले हरेक वर्ष कृषि उत्पादन बढाउने घोषणा गर्छ, तर झन्–झन् कृषिजन्य वस्तुको आयात बढिरहेको छ । पाँच वर्षअघि आर्थिक वर्ष २०७२/७३ मा नेपालले रु. १ खर्ब ५० अर्बको कृषिजन्य वस्तुको आयात गरेको थियो । तर, पाँच वर्षकै बीचमा यस्तो आयात ६२ प्रतिशतले बढेको छ । नेपालीले उपभोग गर्ने चिजबिज कहाँ–कहाँबाट आउँदैन ? अर्कै महादेशमा उब्जिएका खाद्यान्न, तरकारीदेखि मरमसलासम्मले हजारौं किलोमिटर दूरी पार गरेर नेपालीका भान्छामा रजगज गरिरहेका छन् । तर, यता भने कृषिप्रधान देशको राग अलाप्न छोडिएको छैन। - रमेश कुमारको रिपोर्ट।


७. बाघ संरक्षणमा नेपाल विश्वमै नमूना, तर चुनौती बाँकी नै छन्

बाघ नपाइने जिल्लाहरुबाट २१ वटा छाला बरामद भएका छन् । काठमाडौं र नुवाकोट जिल्लाबाट धेरै संख्यामा बाघको छाला बरामद हुनुले बाघको अवैध व्यापार संघीय राजधानीलाई नै केन्द्र बनाई चीन तथा अन्य मुलुकहरुमा पठाउने गरेको सहजै अनुमान गर्न सकिन्छ। सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने विश्व प्रतिबद्धताको अत्यन्त निकट नेपाललाई सफलतालाई जोगाइराख्ने ठूलो चुनौती छ। विश्व बाघ दिवस (जुलाई २९) का अवसरमा संरक्षणविद् माधव खड्काको टिप्पणी।

साथमा, मुकेश पाेखरेलकाे रिपाेर्ट– बाघ बढे, चितुवा निस्के र तुफान न्याैपानेकाे विशेष रिपाेर्ट– कानूनी छिद्रबाटै उम्कन्छन् 'हाइप्रोफाइल' बाघ तस्कर, के फुत्किएलान् त कुन्जोक लामा पनि?
८. निर्मला पन्तको बलात्कार मुद्दामा हदम्याद सकियो, बलात्कारमा अभियोजन नै नहुने चिन्ता

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको मुद्दामा बलात्कारको कसूरबारे अभियोजन हुने सम्भावना कम देखिएको छ। १० साउन २०७५ मा घटना भएको समयमा प्रचलित कानून (मुलुकी ऐन) मा बलात्कारका घटनामा मुद्दा चलाउने हदम्याद ६ महीना मात्र थियो। घटनाको दुई वर्ष बितिसकेकाले बलात्कार मुद्दामा अभियोजन गर्नका लागि हदम्याद नै बाधक देखिने भएको हो। - लक्ष्मी बस्नेतको रिपोर्ट।

 साथै यही घटनाको छानबिनमा खटिएका तत्कालीन प्रहरी अधिकारीहरूलाई अदालतले सफाइ (निर्मला पन्त हत्या घटनामा मुद्दा चलाइएका आठ जना प्रहरीलाई सफाइ दिने अदालतको फैसला) दिएको छ। सफाइ पाएपछि तत्कालीन प्रहरी अधिकृत अंगुर जिसीले हिमालसँग गलत नेतृत्वका कारण आफूहरूले दु:ख पाएको (निर्मला पन्त हत्या मुद्दामा सफाइ पाएका डीएसपी अंगुर जीसी भन्छन् ‘नेतृत्वमा गलत व्यक्ति हुँदा दुःख पायौं’) प्रतिक्रिया दिएका थिए।

१०. ओम्नी मार्फत स्वास्थ्य सामग्री खरीद गर्दा भ्रष्टाचार भएको छानबिनको निष्कर्ष

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य सेवा विभागले ओम्नी बिजनेस कर्पोरेट इन्टरनेशनल (ओबीसीआई) मार्फत चीनबाट गरिएको स्वास्थ्य सामग्री खरीदमा भ्रष्टाचार भएको छानबिनबाट देखिएको छ। प्रधानमन्त्री कार्यालय अन्तर्गतको सार्वजनिक खरीद अनुगमन कार्यालयले गरेको छानबिनबाट १ करोड ३ लाख ३३ हजार अमेरिकी डलर (रु.१ अर्बभन्दा बढी) बराबरका स्वास्थ्य सामग्री खरीद गर्दा भ्रष्टाचार भएको पाइएको हो। ओम्नीले गरेको खरीदबारे कार्यालयको खरीद अनुगमन महाशाखाका निर्देशक सुवासचन्द्र शिवाकोटीको संयोजकत्वमा गठित समितिले छानबिन गरेको थियो। - रामु सापकोटाको रिपोर्ट।


११. सीईओमाथि सञ्चालकको दबाब : ब्याङ्ककै लागि जोखिम !

कोभिड-१९ महामारीले निम्त्याएको संकटका कारण ब्याङ्कहरूको नाफामा असर पर्ने देखिएपछि त ब्याङ्करहरूमाथिको दबाब झन्  बढेको छ। व्यवसायीले ब्याङ्कको सञ्चालक समितिमा गर्ने हालीमुहालीले संस्थागत सुशासन र सर्वसाधारणले जम्मा गरेको धनको सुरक्षामा आशंका उब्जिएको छ। - रमेश कुमारको रिपोर्ट।


१२. सानेपामा शेरबहादुरसँग सुनील थापाको अंकमालको अर्थ

महाधिवेशनको सँघारमा उभिएको कांग्रेसले किन यति हतारोमा राप्रपा छाडेर आएका सुनील थापा लगायतलाई आफूमा विलय गर्यो र स्वयम् थापा के उद्देश्यसहित कांग्रेसमा सम्मिलित भए भन्ने कौतूहल छ। थापा कांग्रेस पार्टीमा मिल्ने कुरा उनले कुन पद लिएर मिल्छन् भन्ने कुरामा सकिने सामान्य विषय होइन। उनका पिताले बोकेको विरासत के थियो, कांग्रेसले पञ्चायतकालमा भोगेको बर्बर दमन र त्यस विरुद्ध लडेको केका लागि थियो, यी दुई प्रश्नको निरुपण विना अहिलेको घटनालाई सामान्य मान्न नसकिएको हो। –शंकर तिवारीको टिप्पणी।


 १३. चितवन घटना : अपराध फौजदारी, जोडबल चाहिं ‘फौजी न्याय’मा

सैनिक ऐनमा सेनाको संगठन, सञ्चालन र सैनिक प्रकृतिको कार्यसँग जोडिएका विषय सैनिक अदालतको क्षेत्राधिकारमा पर्ने व्यवस्था छ। तर,  चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका सैनिकको कुटाइबाट युवाको मृत्यु भएको जस्तो 'फौजदारी अपराध'मा सैनिक ऐन नभई नियमित फौजदारी न्याय प्रणालीबाट पीडकको जवाफदेहिता खोज्नुपर्ने आवाज उठेको छ। - तुफान न्यौपानेको रिपोर्ट।

१४. मुर्मी भोट्या होइनन्, तामाङ

 ऐतिहासिक तथ्यहरुले शासकवर्गले लामो समयसम्म ‘मुर्मी भोट्या’ भनेका तामाङ काठमाडौं उपत्यकाका प्राचीन वासिन्दा भएको आधार दिन्छ। उपत्यकामा तामाङ जातिको प्रवेश, उनीहरुमाथि शासकको व्यवहार, भेदभाव र तामाङ बन्ने संघर्षबारे राजकुमार दिक्पालको अनुसन्धानमूलक आलेख। 

प्रतिकृया दिनुहोस