‘इनफ इज इनफ’ का अभियन्तालाई भेटेर देउवाले भने- मान्छेलाई मर्न दिनुहुन्न
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘इनफ इज इनफ’ का अभियन्तालाई बसन्तपुर पुगेर भेटेका छन्। सतप्रतिशत पीसीआर परीक्षणको माग राख्दै अनसन बसिरहेका अभियन्ताहरूलाई समर्थन गर्न सभापति देउवा बसन्तपुर पुगेका हुन्।
गएको २३ असारमा सरकार पक्षसँग भएका सम्झौता कार्यान्वयन नभएको भन्दै अभियन्ताहरू अहिले बसन्तपुरमा अनसनरत रहेका छन। अनसनरत युवाहरू भेटेपछि सभापति देउवाले सरकारलाई तत्काल माग सम्बोधन गर्न आग्रह गरे।
देउवाले सरकारले तत्काल आफ्नो प्रतिनिधि पठाएर उनीहरूका माग पुरा गर्नेगरी समझादारी गर्न माग गरे।
"हाम्रो पार्टीको ऐक्यवद्धता छ। उहाँहरुको मागलाई समर्थन छ। मान्छेलाई मर्न दिनु हुन्न। ओली सरकारले तुरुन्तै मान्छे पठाएर कुरा गरेर अनसनमा बसेका युवाहरूलाई बचाउनुपर्छ। सरकारले शान्तिपूर्ण आन्दोलनकारीमाथि धरपकड गरिरहेको छ, यसको घोर भत्र्सना गर्छु," उनले भने।
यस्तै कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले विगत १५ दिनदेखि अनसनमा रहेका युवाहरूले उठाउँदै आएका माग देश र जनताको हितमा रहेको बताएका छन्। सरकारले आफ्ना प्रतिनिधि पठाएर उनीहरुले उठाएका माग पुरा गर्नुपर्ने उनको भनाइ छ।
सतप्रतिशत पीसीआर परीक्षण हुनुपर्ने, क्वारेन्टिनको अवस्था सुधार गर्नुपर्ने लगायतका माग राख्दै आएका अभियन्ताहरूसँग सरकारले २३ असारमा माग पुरा गर्ने लिखित प्रतिवद्धता जनाएको थियो।
सम्झौतामा कोरोनाविरुद्धको लडाइँमा भएको खर्च सम्बन्धी विवरण सार्वजनिकीकरणका लागि अर्थ मन्त्रालय, श्रमिकका सम्बन्धमा श्रम मन्त्रालय र अन्य विषयमा गृह मन्त्रालयलाई एक हप्ताभित्र लेखेर पठाउने पनि उल्लेख थियो।