कोरोना रोकथाममा सरकारको काम हेर्दा 'स्थिति भयावह बन्न सक्ने' विज्ञहरूको चेतावनी
चिकित्सकहरूले कोभिड १९ रोकथामका लागि सरकारले प्रभावकारी काम गर्न नसके 'रोग’को रुपमा फैलन सक्ने चिन्ता व्यक्त गरेका छन्।
सरकारले कोभिड १९ रोकथामका लागि गरेको कामको प्रकृति हेर्दा केही हप्ताभित्र नै संक्रमण ‘रोग’को रुपमा फैलन सक्ने संकेत देखिएको चिकित्सकहरूले बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दिक्षितले अहिलेसम्म कोभिड १९ को संक्रमण रोगको रुपमा नदेखिएको तर समुदायस्तरमा फैलिदै गए रोगको रुपमा देखापर्न सक्ने बताए।
कोभिड रोकथामका लागि सरकारले गरेको कामलाई हेर्दा अबको केही दिनभित्रै संक्रमण रोगको रुपमा देखापर्ने निश्चित भएको डा. दिक्षितले बताए।
उनले सरकारले पीसीआर परीक्षणलाई बढाउँदै लैजानुपर्नेमा घटाउँदै लगेको र समुदायमा संक्रमण देखिदै गएकाले स्थिति भयावह बन्न सक्ने चेतावनी दिए।
इपिमिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख एवं सरुवा रोग विशेषज्ञ डा. बाबुराम मरासिनिले संक्रमण एक ठाउँबाट अर्को ठाउँमा जाने अवस्थाबाट जोगाउनुपर्ने बताए।
संक्रमण देखिएको क्षेत्रबाट नदेखिएको क्षेत्रमा आवतजावतमा कडाई गर्नुपर्ने र काठमाडौं उपत्यका सहित सीमा क्षेत्रमा रहेका बस्तिमा परीक्षणको दायरा बढाउनुपर्ने बताए।
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवारोग विशेषज्ञ डा अनुप बास्तोलाले मानिसहरूको आवागमनलाई व्यवस्थित बनाउन नसके काठमाडौं उपत्यकाको अवस्था केही हप्ता भित्रै भयावह हुनसक्ने बताए।
उनले जोखिम युक्त ठाउँबाट आएका मानिसहरू क्वारेन्टिनमा नबस्दा नै समुदायस्तरमा संक्रमण फैलिएको बताए। संक्रमण रोकथामको उपाय बन्दाबन्दी मात्रै नभएकाले आवश्यक सावधानी सबैले अपनाउनुपर्नेमा डा. बास्तोलाले जोड दिए।
सरकारले बन्दाबनदी खोलेपछि मानिसहरूको आवागमन बढेको छ। जसले गर्दा समुदायस्तरमा संक्रमणका केसहरू देखिएका छन्। तर पीसीआर परीक्षणलाई अझै बढाएको देखिदैन्। जसले गर्दा संक्रमण समुदायस्तरमा भित्रभित्रै फैलिदै जाने र स्थिति थप जटिल बन्न सक्ने जोखिम बढेको छ।