समाचार शनिबार, साउन १७, २०७७

संक्रमणको जोखिम बढ्नुमा स्वास्थ्य मन्त्रालयले देखेको तीन कारण

हिमालखबर

संक्रमणको जोखिम बढ्नुमा स्वास्थ्य मन्त्रालयले देखेको तीन कारण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय संक्रमणको खतरा बढ्दै जानुको मुख्य तीन कारण रहेको जनाएको छ। नियमित पत्रकार सम्मेलन गरी मन्त्रालयले बन्दाबन्दी खुलेपछि तीन कारणले संक्रमणको जोखिम बढेको जानकारी दिएको छ।

पहिलो, सीमानाकामा स्वाब परीक्षण नगरी स्वदेश आउन दिनु। प्रवक्ता जागेश्वर यादवले स्वाब परीक्षण नगरी स्वदेश भित्रने गरेको जानकारी आएको बताए। उनले भने, “स्थगलत आवागमनबाट आउनेको स्वाब संकलन गरेर मात्रै प्रवेश गर्न दिन स्थानीय सरकारलाई आग्रह गर्छौ।”

दोस्रो, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारीहरुले सामाजिक दुरी कायम नगर्नु र मास्क नलगाउनु हो। सिंहदरबारकै कर्मचारीले पनि मास्क नलगाउने र लगाए पनि चिउडोमा लगाउने गरेकाले यसमा कडाइ गर्न मन्त्रालयले आग्रह गरेको छ।

तेस्रो, २५ जना भन्दा बढीको भेलामा रोक लगाएपनि पालना नहुनु। यसमा पनि कडाई गर्न मन्त्रालयको आग्रह छ।

बढ्यो संक्रमण

१२० दिन पछाडि ७ साउनमा बन्दाबन्दी खुलेपछि नेपालमा संक्रमित संख्या बढेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमित संख्या बढेको जनाएको छ।

बन्दाबन्दी खुल्नु अगाडिको ११ दिनको अवधिमा ४७ हजार ८७७ जनामा पीसीआर परीक्षण गरिएको थियो भने एक हजार ३४५ जनामा संक्रमण देखिएको थियो। यो भनेको २.८ प्रतिशत हो।

बन्दाबन्दी खुलेको ११ दिनमा भने ५८ हजार १७४ जनाको पीसीआर परीक्षण गरिएकोमा दुई हजार ९२ जनामा संक्रमण पुष्टि भएको छ। यो संख्या ३.६ प्रतिशत हो। मन्त्रालयको तथ्याङ्क अनुसार, बन्दाबन्दी खुुलेपछि ०.८ प्रतिशत संक्रमण बढेको छ।

मन्त्रालयले बन्दाबन्दी खुलेपछि रोकथामका प्रयासहरु पालना नगर्दा संक्रमण बढेको जनाएको छ। विशेषगरी सामाजिक दुरी कायम नगर्ने, सीमा नाकाबाट स्वाब संकलन नगरी भित्रन दिने र मास्क नलगाउने गर्दा संक्रमणको खतरा झनै बढेर गएको छ।

प्रतिकृया दिनुहोस