समाचार शनिबार, साउन १७, २०७७

गुरुयोजना खारेजीको माग गर्दै पशुपति क्षेत्रमा सांस्कृतिक र्‍याली, पर्यटनमन्त्री भन्छन्- 'अतिक्रमण स्वीकार्य छैन'

हिमालखबर

गुरुयोजना खारेजीको माग गर्दै पशुपति क्षेत्रमा सांस्कृतिक र्‍याली, पर्यटनमन्त्री भन्छन्- 'अतिक्रमण स्वीकार्य छैन'

पशुपति क्षेत्र विकास कोषले स्थानीयवासी एवं तीनै तहका जनप्रतिनिधिसँग परामर्श नगरी दीर्घकालसम्म प्रभाव पार्ने गुरुयोजना प्रस्ताव गरेको भन्दै स्थानीयवासीले सांस्कृतिक र्‍यालीसहित विरोध प्रदर्शन गरेका छन्।

विरोधस्वरुप शनिवार बिहान पशुपतिको ट्याक्सी पार्कबाट–तिलगङ्गा–देउलाटोल–आँखा अस्पताल–गौशाला–रातोपुल–पनेको टोल–सिफलचौर–ताम्रेश्वर–नवालीटोल–जयवागेश्वरी–मित्रपार्क–कुटुबहाल–लामपोखरी–चन्द्रविनायक मन्दिर–चावहिल चोक–पीपलबोट–गौरीघाट–उमाकुण्ड–पशुपतिनाथको पश्चिम मूल ढोका–डठ्ठीटोल–जयवागेश्वरी हुँदै भुवनेश्वरी पार्क गरी गुरुयोजनाले प्रभाव पार्न लागेको सबै क्षेत्रमा सांस्कृतिक र्‍याली निकालिएको संयुक्त सङ्घर्ष समितिका संयोजक आशामान सँगतले जानकारी दिए।

सांस्कृतिक वेषभूषासहित र्‍यालीमा सहभागी भएका स्थानीयवासीले गुरुयोजना तत्काल खारेज गर्न माग गरेका थिए।

र्‍यालीमा वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्य, काठमाडौँ महानगरपालिका– ७ का अध्यक्ष शुद्धकुमार डङ्गोल, वडा नं ८ का अध्यक्ष दीनेशकुमार डङ्गोल, वडा नं ९ का अध्यक्ष रामकृष्ण जयेखु श्रेष्ठलगायत वडामा निर्वाचित जनप्रतिनिधि, स्थानीय सङ्घसंस्था, क्लब, गुठीलगायत सदस्यको सहभागिता थयो । सहभागीले एक स्वरमा कोष सञ्चालक परिषद्ले २०७६ माघ १९ गते पारित गरी मन्त्रिपरिषद्मा पेश गरेको गुरुयोजनाको विरोध गरेका थिए ।

स्थानीयवासीको प्राचीनकालदेखिको बस्ती नाश गर्ने, स्थानीयवासीका चाड पर्व, धर्म संस्कृति पनि नष्ट हुने भएकाले गुरुयोजना खारेज हुनुपर्ने सहभागीको माग थियो। समितिलाई आइतबार बिहान १० बजे संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले वार्ताका लागि बोलाएको जानकारी पनि संयोजक सँगतले दिए।

पशुपति क्षेत्रमा गरिएको अतिक्रमण स्वीकार्य छैन : पर्यटनमन्त्री

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले व्यक्तिगत र व्यापारिक स्वार्थमा पशुपतिमाथि भइरहेको मानव अतिक्रमणलाई स्वीकार नगरिने बताएका छन्।

पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा रहेको गोठाटारस्थित जग्गाका सम्बन्धमा पछिल्लो पटक उठिरहेको सवालका सन्दर्भमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले पशुपति क्षेत्रको ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक पक्षको संरक्षण र संवद्र्धन गरिने बताए।

कोषका अध्यक्षसमेत रहेका मन्त्री भट्टराईले स्थानीय जात्रा र पर्वको जगेर्ना गर्दै पशुपति क्षेत्रको सम्पत्तिमाथि भइरहेको अतिक्रमणलाई रोक्ने बताए। अतिक्रमणको चपेटामा परेको कोषको जग्गाका सम्बन्धमा उनले भने, "पशुपतिको सम्पति माथिको अतिक्रमण रोक्न गुरुयोजनाको प्रभावकारी कार्यान्वयन गरिनेछ।”

कोषको उक्त जग्गा विगतमा विभिन्न मुद्दा मामिला झेल्दै आएको तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि निगरानी गरेको छ। पछिल्लो पटक अख्तियारले पशुपतिको बृहत्तर हितमा रहने गरी पारदर्शी र प्रतिस्पर्धी ढङ्गले उपयोग गर्न कोषलाई लिखित निर्देशन दिएको छ।

सोही निर्णयका आधारमा पारदर्शी कार्यविधि बनाएर जग्गाको माटो र बालुवा व्यवस्थापन गरी दैनिक चोरी निकासी रोक्नेगरी काम अघि बढाइने पर्यटनमन्त्री भट्टराईले बताए।

पर्यटनमन्त्री भट्टराईले गुरुयोजनालाई अघि बढाउने सन्दर्भमा स्थानीयवासीको गुनासो पनि सम्बोधन गर्नेगरी त्यस क्षेत्रका जनप्रतिनिधि, प्रदेश तथा सङ्घका सांसद तथा राजनीतिक दलका प्रतिनिधिलाई राखेर प्रक्रिया अघि बढाइने उल्लेख गरे।

कोषको जग्गासँग जोडिएका स्थानीयवासीको निजी सम्पत्ति भएमा पनि पशुपतिको मापदण्डभित्र रहेर घर वा सार्वजनिक संरचना बनाउँदा पशुपतिको सौन्दर्यता, पुरातात्विक महत्व र ऐतिहासिक सन्दर्भलाई असर नगर्ने गरी संरचना बनाइनुपर्ने पर्यटनमन्त्रीको भनाइ छ।

प्रतिकृया दिनुहोस