समाचार शनिबार, साउन १७, २०७७

आज इस्लाम धर्मावलम्बीको बकर इद, घरैमा मनाउन आग्रह

हिमालखबर

आज इस्लाम धर्मावलम्बीको बकर इद, घरैमा मनाउन आग्रह
फाइल तस्वीर

आज मुस्लिम समुदायमा दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) हर्षोल्लासपूर्वक मनाउँदैछ। यो वर्ष कोरोनाभाइरस महामारीको जोखिमका कारण घरैमा मनाउन मुस्लिम आयोगले आग्रह गरेको छ।

इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने गरिन्छ। यस दिन बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गएर सामूहिक नमाज पढ्ने प्रचलन रहिआएकाे छ। नमाज पढिसकेपछि एक आपसमा अङ्कमाल गर्दै शुभकामना आदान प्रदान गरिन्छ।

यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ। यस वर्ष कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने भएकाले मुस्लिम आयोगले शुक्रबार विज्ञप्ति जारी गरी घरमै बसेर सुरक्षितरुपमा बकर इद मनाउन आह्वान गरेको छ।

हिजरी संवत्अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको राष्ट्रिय मुस्लिम आयोगका पूर्वअध्यक्ष निर्दोष अलीले जानकारी दिए।

यस पर्वका अवसरमा मक्का मदिना जानु शुभ मानिने भए पनि यस वर्ष कोरोनाका कारण अन्तर्राष्ट्रिय उडानसमेत बन्द छ। जसका कारण हजयात्री मक्का मदिना जान पाएका छैनन्।

मस्जिद, इदगाहलगायत धार्मिकस्थलमा पनि भौतिक दूरी कायम गरेर बकर इद मनाइँदैछ। यो पर्वमा अल्लाहलाई खुशी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बलि) दिने गर्छन्।

प्रतिकृया दिनुहोस