थप समाचार शनिबार, साउन १७, २०७७

रुपर्ट मुडर्कसँग असहमति जनाउँदै कान्छा छोरा जेम्सले छाडे न्युज कर्पोरेसन

हिमालखबर

रुपर्ट मुडर्कसँग असहमति जनाउँदै कान्छा छोरा जेम्सले छाडे न्युज कर्पोरेसन

विश्वप्रख्यात ‘मिडिया टाइकुन’ रुपर्ट मुडर्कका कान्छा छोरा जेम्स मुडर्कले ‘न्युज कर्पोरेसन’ को बोर्डबाट राजीनामा दिएका छन्। उनले सम्पादकीय विषयबस्तुमा असहमति जनाएर राजीनामा दिएका हुन्।

उनले अमेरिकी नियामकहरुलाई बुझाएको फाइलमा कम्पनीका केही रणनीतिक निर्णयहरुमा पनि चित्त नबुझेको उल्लेख गरेका छन्। तर, उनको असहमतिको वास्तविक विषय र त्यसको विस्तृत जानकारी सार्वजनिक गरिएको छैन। न्युज कर्पोरेसन उनीहरुको पारिवारिक कम्पनी हो।

जेम्स मुडर्कले यसअघि पनि न्यूज कर्पोरेसनका प्रकाशन तथा प्रसारणहरुको आलोचना गर्थे। त्यसमध्ये एउटा वाल स्ट्रिट जर्नलको जलवायु परिवर्तनसम्बिन्धि कभरेज पनि हो।

पछिल्ला वर्षहरुमा जेम्स मुडर्क उनका बाबुको राजनीति विपरित गएको उत्तर अमेरिकाका आफ्ना संवाददाता डेभिड विलिजलाई उधृत गर्दै बीबीसीले जनाएको छ। जब रुपर्ट राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पलाई सहयोग गरिरहेका थिए, जेम्स भने डेमेक्र्याट उम्मेदवार जो बाइडेनको पक्षमा सयौँ हजार डलर खर्च गरिरहेका थिए।

दाजु लाच्लान बाबुको पुरातनवादी सोचकै समर्थक भएकाले जेम्सको बहिर्गनमले न्युज कर्पोरेसनलाई ठूलो प्रभाव पार्ने आकलन गरिएको छ। न्युज कर्पोरेसनका कार्यकारी अध्यक्ष रुपर्ट र सह–अध्यक्ष लाच्लानले जेम्सलाई भविष्यका लागि शुभकामना दिएका छन्।

अहिले न्युज कर्पोरेसनसँग बेलायतका द टाइम्स, द सन र द सन्डे टाइम्सको स्वामित्व छ। त्यस्तै द अष्ट्रलियन, द डेली टेलिग्राफ र द हेराल्ड सन जस्ता अष्ट्रेलियन पत्रिकाको स्वामित्व पनि छ।

त्यसलगायत विश्वका धेरै पत्रिका, टेलिभिजन र रेडियोको स्वामित्व न्युज कर्पोरेसनसँग छ। दक्षिण प्रसिद्ध फक्सका न्यानलसहित एसियामा हेरिने हिन्दी भाषामा प्रसारण हुने कतिपय च्यानलको स्वामित्व पनि न्युज कर्पोरेसनसँग छ। जेम्स ट्वान्टी फस्ट सेन्चुरी फक्सका प्रमुख कार्यकारी अधिकृत पनि थिए।

प्रतिकृया दिनुहोस