समाचार शनिबार, साउन १७, २०७७

गुल्मीमा पहिरोले एकै परिवारका चार जनाको मृत्यु

रासस

गुल्मीमा शुक्रबार राति गएको पहिरोमा परेर एकै परिवारका चार जनाको ज्यान गएको छ। ज्यान जानेमा आमा, नाबालक दुई छोरा र छोरी छन्।

रुरुक्षेत्र गाउँपालिका ५ अन्तर्गत टाहाटिम नजिकै आँटीपाटाका स्थानीय राजु माझीको घर पहिरोले पुरिएको रुरुक्षेत्र गाउँपालिका–५ का वडाध्यक्ष हरिप्रसाद ज्ञवालीले जानकारी दिए। पहिरोमा परेर राजु माझीकी श्रीमती वर्ष ३० की बिना, उनका छोराहरु वर्ष १० का हेमन्त, वर्ष ७ का सागर र १० महिनाकी छोरी विनिताको मृत्यु भएको छ।

राजु भने वैदेशिक रोजगारीमा गएका छन्। शुक्रबार बेलुकी ५ बजेदेखि अविरल वर्षा भइरहेको कारण राति घरमाथिबाट ठूलो चट्टानसहितको पहिरो खसेर घर पुरिएको बताइएको छ।

पहिरोमा परेर ज्यान गुमाएका चारै जनाको शव निकालिएको छ। घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय रिडी र प्रहरीचौकी जोहाङ्ग खैरेनीबाट प्रहरी टोली घटनास्थलतर्फ गएको छ।

प्रतिकृया दिनुहोस