समाचार शनिबार, साउन १७, २०७७

२० लाख नगदसहित ठेकेदार बेपत्ता, हत्या भएको प्रहरीको आशंका

हिमालखबर

अच्युत राज भण्डारी, मुगु 

मुगुमकार्मारोङ गाउँपालिका–२ मुगु गाउँका २८ वर्षीय ठेकेदार टाँसी तामाङ २० लाख नगदसहित चार दिनदेखि बेपत्ता भएका छन्।

तामाङ गएको १३ साउनमा पुलू राष्ट्रिय वााणिज्य ब्यांक शाखाबाट २० लाख रकम झिकेर मुगु गाउँतर्फ जाँदै गरेको अवस्थामा एकाएक बीच बाटोबाटै बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पूलु राष्ट्रिय वाणिज्य ब्यांकबाट २० लाख रकम झिकेर मुगु गाउँतिर जाँदै गरेका ठेकेदार टाँसी चार दिनदेखि बेपत्ता भएको प्रहरी नायब उपरीक्षक भुवनेश्वर प्रसाद साहले जानकारी दिए। पुलु प्रहरी चौकीले खोजीकार्य जारी राखे पनि अहिलेसम्म फेला पर्न नसकेको उनले बताए।

१३ साउनमा राति चितै कुनामा रहेका होटलमा टाँसी बास बसेको र सोही राति झगडा भएको भन्ने सुनिएको हुँदा झगडामा चोट पाएका एक ब्यक्तिलाई समेत पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याइएको उनको भनाइ छ।

कोइकी पर्यटकीय पथमार्ग निर्माण कार्यको ठेक्का टाँसीका दाजु उर्गिन तामाङले लिएको र आयोजना स्थलमा प्रतिनिधिको रुपमा उनले कामकाज गराउँदै आएको अवस्थामा कामदारहरूको रकम भुक्तानीको लागि पुलू ब्यांकबाट रकम झिकेर फर्किने बेला बेपत्ता भए।

मुगुमकार्मारोङ गाउँपालिकाको केन्द्र रहेको पूलुदेखि मुगु गाउँसम्म पुग्न करिब एक दिन लाग्ने र उक्त बाटो मुगु कर्णाली नदीको किनारै किनार भएको हुँदा नगद लुटने लोभले अपराधि ब्यक्तिले टाँसीलाई नदीमा फालेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।

ठूलो बर्षातका कारण र अर्कोतिर मुगु कर्णाली नदीको बाहव पनि अत्याधिक बढेको हुँदा खोजीकार्यका लागि मुष्किल भएको प्रहरीले जनाएको छ।

उनको निरन्तर खोजीकार्यका लागि जिल्लाबाट थप सुरक्षाकर्मीको टोली समेत खटाइएको जिप्रका मुगुले जनकारी गराएको छ।

प्रतिकृया दिनुहोस