कला/साहित्य शुक्रबार, साउन १६, २०७७

यसवर्षको ‘प्रकाश मानव अधिकार पुरस्कार’ रुपचन्द्र विश्वकर्मालाई

हिमालखबर

यसवर्षको ‘प्रकाश मानव अधिकार पुरस्कार’ रुपचन्द्र विश्वकर्मालाई

अनौपचारिक क्षेत्र सेवा केन्द्र 'इन्सेक' ले हरेक वर्ष प्रदान गर्दै आएको 'प्रकाश मानव अधिकार पुरस्कार –२०७६' बाजुरामा कार्यरत डा. रुपचन्द्र विश्वकर्मालाई प्रदान गर्ने भएको छ। इन्सेकका संस्थापक महासचिव स्वर्गीय प्रकाश काफ्लेको २८औँ स्मृतिमा आज पुरस्कारको घोषणा गरिएको हो।

अघिल्लो वर्षहरुमा स्मृति दिवसकै दिन पुरस्कार प्रदान गर्ने गरेकोमा यसवर्ष कोरोना संक्रमणका कारण पुरस्कार वितरण समारोह पछि गरिने इन्सेक अध्यक्ष डा इन्दिरा श्रेष्ठले जानकारी दिइन्।

इन्सेक कार्यसमितिको ६ साउनमा बसेको बैठकले तीन वर्षदेखि बाजुरा जिल्ला अस्पतालमा कार्यरत डा. विश्वकर्मालाई पुरस्कृत गर्ने निर्णय गरेको इन्सेकले विज्ञप्ति मार्फत जानकारी दिएको छ।

मानव अधिकार तथा सामाजिक न्यायको क्षेत्रमा योगदान पुर्‍याउँदै आएका व्यक्तिहरुलाई दिइने यो पुरस्कारबाट यसअघि २५ जना पुरस्कृत भइसकेको विज्ञप्तिमा उल्लेख छ।

पुरस्कारको राशि रु. ५० हजार र सम्मानपत्र हुने जनाइएको छ।

इन्सेकका महासचिव रुद्रबहादुर चर्माकारले इन्सेकका सात प्रदेशमा रहेका प्रदेश कार्यालयहरू तथा केन्द्रीय कार्यालयले तयार पारेको सिफारिशको सूचीलाई पुरस्कार छनोट समितिले पुरस्कृत व्यक्तित्व छनोट गरेको जानकारी दिए।

दुर्गम बाजुरा जिल्लाको स्वास्थ्य सेवामा समर्पित कर्मशील व्यक्तित्वका रूपमा विश्वकर्मालाई पुरस्कृत गर्ने निर्णय गरेको उनले बताए।

प्रतिकृया दिनुहोस