समाचार शुक्रबार, साउन १६, २०७७

सेनाको स्पष्टोक्ति– प्रदेशहरूमा अस्पताल चलाउन त्रि-चन्द्र मिलिटरी हस्पिटललाई व्यापारिक कम्प्लेक्स बनायौं

हिमालखबर

सेनाको स्पष्टोक्ति– प्रदेशहरूमा अस्पताल चलाउन त्रि-चन्द्र मिलिटरी हस्पिटललाई व्यापारिक कम्प्लेक्स बनायौं

नेपाली सेनाले ऐतिहासिक त्रि–चन्द्र मिलिटरी हस्पिटल भत्काएर बनाइएको भवनलाई व्यापारिक कम्पलेक्स बनाइनुको कारण खुलाउँदै त्यसको प्रतिरक्षा गरेको छ।

शुक्रबार सैनिक मुख्यालय (जंगी अड्डा)मा आयोजित पत्रकार सम्मेलनमा सेनाले व्यापारिक कम्पलेक्सबाट आम्दानी गर्ने र त्यो आम्दानी प्रदेशहरूमा अस्पताल सञ्चालनका लागि प्रयोग गरिने जनाएको हो।

यो पनि पढ्नुहोस्ः

सेनाको द्रव्यमोहले ‘सपिङ मल’ बन्यो त्रि-चन्द्र मिलिटरी हस्पिटल, जंगी अड्डालाई वार्षिक ४९ करोड भाडा

सेनाले २०७१ सालमा करिब ९० वर्ष पुरानो त्रि–चन्द्र मिलिटरी हस्पिटलको भवन भत्काएको थियो। त्यो ठाउँमा सैनिक कल्याणकारी कोषको रकम लगानी गरेर नयाँ भवन बनाइयो। बहालवाला तथा भूतपूर्व सैनिक र तिनका परिवारसँगै सर्वसाधारणलाई समेत स्वास्थ्योपचार सेवा दिनेगरी अस्पताल सञ्चालन गर्ने भन्दै पुरानो भवन भत्काएको सेनाले नयाँ भवन निर्माण भएपछि भने त्यसलाई व्यापारिक कम्प्लेक्सका रुपमा भाडामा दिने प्रक्रिया अघि बढायो।

१६ माघ २०७६ मा सेनाले यो भवन श्रीजयन्ती निर्माण सेवा नामको कम्पनीलाई वार्षिक करीब रु.५० करोड भाडामा दिएको छ। सो कम्पनीले यसलाई श्रीजयन्ती ट्रेड सेन्टरका नाममा होलसेल सपिङ कम्प्लेक्स बनाइरहेको छ।

यो पनि पढ्नुहोस्ः

सेनाको द्रव्य मोह: ऐतिहासिक अस्पताल मासेर व्यापारिक भवन

सैनिक कल्याणकारी योजना निर्देशक, सहायकरथी सागरबहादुर केसीले कोषका हिताधिकारीहरुले प्रदेशहरुमा अस्पताल सञ्चालन गर्न माग गरेपछि त्यसकै लागि यो भवन भाडामा दिने निर्णय गरिएको बताए।

“ती अस्पतालहरु सञ्चालन गर्न आयआर्जन हुनुपर्‍याे, त्यही आयआर्जनका लागि यो भवन प्रयोग गर्न लागेका हौं”, उनले भने, “यसबाट हुने आय प्रादेशिक अस्पताल सञ्चालनमा प्रयोग गरिनेछ, योबाहेक अरु उद्देश्य छैन।”

सैनिक प्रवक्ता, सहायकरथी सन्तोष बल्लभ पौडेलले यो भवन भाडामा दिने सूचना प्रकाशन गर्दा नै यसबाट हुने आम्दानी अस्पताल र हिताधिकारीहरुको स्वास्थ्य उपचारमा प्रयोग गरिने उल्लेख गरिएको बताए।

यो पनि पढ्नुहोस्ः

सेनाले व्यापारिक कम्प्लेक्स बनाउन भाडामा दियो ऐतिहासिक त्रि–चन्द्र मिलिटरी हस्पिटल

सेनाको रुचि व्यापारिक कम्प्लेक्स सञ्चालनमै

 

प्रतिकृया दिनुहोस