समाचार शनिबार, साउन १७, २०७७

कर्णालीमा बाढी–पहिरोको प्रकोप: ४३ जनाको ज्यान गयो, ८ जना अझै बेपत्ता

हिमालखबर

कर्णालीमा बाढी–पहिरोको प्रकोप: ४३ जनाको ज्यान गयो, ८ जना अझै बेपत्ता
जाजरकोटको बारेकोट गाउँपालिकामा पहिरोमा परेर मृत्यु भएकाहरूको शव ओसार्दै स्थानीय।

कर्णाली प्रदेशमा यसवर्ष बाढी–पहिरोबाट ४३ जनाको ज्यान गएको छ भने ८ जना अझै बेपत्ता छन्। प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार अविरल वर्षाले निम्त्याएको बाढी–पहिरोले कर्णाली प्रदेशमा यससँगै २८ जना गम्भीर घाइते समेत भएका छन्।

बाढी–पहिरोका कारण कर्णाली प्रदेशमा सबैभन्दा बढी मानवीय क्षति कालिकोट जिल्लामा भएको छ। कालिकोटमा मात्र अहिलेसम्म २१ जनाले ज्यान गुमाएका छन्। बाढी–पहिरोमा परेका ६ जना अहिलेसम्म फेला परेका छैनन् भने ९ जना गम्भीर घाइते अवस्थामा छन्। कर्णालीकै विकट जिल्ला जाजरकोटमा पनि यस वर्ष बाढी–पहिरोले धेरै क्षति पुर्‍याएको छ।

पहिरोबाट जाजरकोटमा १५ जनाको मृत्यु, २ जना बेपत्ता र ७ जना घाइते भएका छन्। कालिकोट र जाजरकोटसँगै कर्णालीका अधिकांश जिल्लाहरूले यस वर्ष मानवीय क्षति व्यहोरेको छन्। बाढी–पहिरोले रुकुम पश्चिममा ४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

जाजरकोटको बारेकोट गाउँपालिकामा पहिरोमा परेर मृत्यु भएकाहरूको शव ओसार्दै स्थानीय।

दैलेखमा १ जनाको मृत्यु र ६ जना घाइते, सुर्खेत र सल्यानमा १–१ जनाको मृत्यु भएको छ।

वैशाखदेखि शुरु भएको वर्षातबाट मानवीयसँगै भौतिक क्षति पनि भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। यस वर्ष बाढी–पहिरोले कर्णालीका ८० वटा घरमा पूर्ण रुपमा क्षति पुगेको छ भने करीब ४ करोड मूल्य बराबर सम्पति क्षति भएको छ। कर्णालीका जुम्ला, हुम्ला, मुगु र डोल्पा जिल्लामा मानवीय क्षति नभए पनि बाढी–पहिरोका कारण जनजीवनमा असर पुगेको छ।

बाढी–पहिरोका कारण सबैभन्दा बढी क्षति व्यहोरेको कालिकोटको नरहरिनाथ गाउँपालिकामा ११ जना, रास्कोट नगरपालिकामा ६ जना, महावै, तिलागुफा र पाँचलझरना गाउँपालिकामा क्रमशः २ जना र १–१ जना गरी २१ जनाको ज्यान गएको छ। नरहरिनाथ गाउँपालिका ७ भाटगाउँको बाकाँमा पहिरो जाँदा एकैघरका ७ जनाको मृत्यु भएको थियो।

जाजरकोटको बारेकोट गाउँपालिकामा पहिरोले भत्किएर पुरिएका व्यक्तिहरूको शव निकाल्दै सुरक्षाकर्मी र स्थानीयहरू।

गएको मंगलबार राति पहिरोले घर पुरेपछि ६५ वर्षीय गंगे बुढा, उनकी श्रीमती ६१ वर्षीया नैना बुढा, २४ वर्षीया बुहारी कुशा बुढा, १८ वर्षीया छोरी विमला बुढा, १० वर्षीया नातिनी चन्द्रिका बुढा, ७ वर्षीय नाति राम बुढा, डेढ वर्षीय नाति चरित्र बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख डीएसपी श्यामबाबु ओलियाले जानकारी दिए।

जाजरकोटको बारेकोट गाउँपालिकामा पहिरोले भत्किएर पुरिएका व्यक्तिहरूको शव निकाल्दै सुरक्षाकर्मी र स्थानीयहरू।

कालिकोटका सहायक प्रमुख जिल्ला अधिकारी युवराज गुरागाईंले कालिकोटमा बाढी–पहिरोबाट थप धनजनको क्षति हुन नदिन जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेर सर्वसाधारणलाई सतर्कता अपनाउन सूचना जारी गरिएको र क्षति पुगेका परिवारजनलाई उचित राहत र क्षतिपूर्ति उपलव्ध गराउन पहल गर्न शुरु गरिएको बताए।

गएको २५ असारको राति जाजरकोटको बारेकोट गाउँपालिका–४ जिरीमा पहिरोमा परेर एकैचोटि ११ जनाले ज्यान गुमाए। पहिरोमा पुरिएका उनीहरूको शव ३ दिन लगाएर सुरक्षाकर्मीको टोलीले निकालेको थियो। ६ वर्षीय बालकसहित पहिरोमा पुरिएका ११ जना सबै दलित समुदायका थिए।

जाजरकोटका प्रहरी प्रमुख किशोर श्रेष्ठले सदरमुकामबाट जान २ दिन लाग्ने सो गाउँपालिकामा पुगेर पहिरोले पुरिएका व्यक्तिको खोजी कार्यका लागि धेरै कष्ट व्यहोर्नुपरेको बताए।

उनका अनुसार सो पहिरोमा परेकी ५० वर्षीया पुष्पा सार्की अझै फेला नपरेकी र उनको खोजी कार्य जारी रहेको छ।

जाजरकोटको बारेकोट गाउँपालिकामा पहिरोले भत्किएर पुरिएका व्यक्तिहरूको शव निकाल्दै सुरक्षाकर्मी र स्थानीयहरू।

पछिल्लो समय बाढी–पहिरोका कारण धेरै भौतिक क्षति पनि भएपछि अहिले कर्णालीका स्थानीय तह र स्थानीय प्रशासनले क्षति विवरण संकलन गर्ने कार्य शुरु गरेका छन्। धेरै स्थानमा बाढी–पहिरोले ठूलो क्षति पुर्‍याएपछि विवरण आउन केही समय लाग्ने उनीहरूले जानकारी दिएका छन्।

लगातारको वर्षातले गर्दा कर्णाली राजमार्गसँगै कर्णाली प्रदेशका जिल्ला जोड्ने सडक भत्किएपछि यातायातका साधन रोकिएका कारण जनजीवन पनि कष्टकर बन्दै गएको छ।

यज्ञराज थापा, सुर्खेत

 

प्रतिकृया दिनुहोस