समाचार शुक्रबार, साउन १६, २०७७

सैनिक कल्याणकारी कोषको सम्पत्ति पुग्यो ५१ अर्ब ६१ करोड, एक वर्षमै थपियो ७ अर्ब

हिमालखबर

सैनिक कल्याणकारी कोषको सम्पत्ति पुग्यो ५१ अर्ब ६१ करोड, एक वर्षमै थपियो ७ अर्ब
नेपाली सेनाको मुख्यालय ।

नेपाली सेनाले आफ्ना बहालवाला तथा भूतपूर्व कर्मचारी र तिनका आश्रित परिवारको हितका लागि भन्दै स्थापना गरेको सैनिक कल्याणकारी कोषको सम्पत्ति रु.५१ अर्ब ६१ करोड पुगेको छ।

सैनिक मुख्यालय (जंगी अड्डा) ले संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्यमा सहभागी हुने सैनिकले पाउने पारिश्रमिकबाट कटौती गरेर स्थापना गरेको कोषको सम्पत्ति एक वर्षमै रु.७ अर्ब वृद्धि भएको हो।

जंगी अड्डामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सैनिक कल्याणकारी योजना निर्देशक, सहायक रथी सागरबहादुर केसीले कोरोनाभाइरस महामारीले संसारभर नै आर्थिक गतिविधिमा ठूलो ह्रास आउँदा पनि कोषमा भने उल्लेख्य प्रगति भएको बताए।

उनले २०७६ असार मसान्तमा कोषमा जम्मा रु.३८ अर्ब ५७ करोड रहेकोमा एक वर्षमै ७ अर्बभन्दा धेरै वृद्धि भएर गएको असार मसान्तसम्म ४५ अर्ब ४६ करोड ८० लाख पुगेको पत्रकार सम्मेलनमा जानकारी दिए। “कोष मार्फत गरिएको लगानी समेत जोड्दा कोषको कूल सम्पत्ति रु.५१ अर्ब ६१ करोड पुगेको छ”, सहायक रथी केसीले भने।

संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्यमा विभिन्न मुलुकमा खटिने सैनिकको पारिश्रमिकबाट कटौती गरेर २०३२ सालमा सैनिक कल्याणकारी कोष स्थापना गरिएको थियो। त्यसवेला रु.१ करोड २४ लाख १ हजारबाट कोष शुरु भएको थियो।

अहिले राष्ट्रसंघीय मिसनमा खटिने सैनिकबाट प्राप्त हुने रकमसँगै सेनाले कोष मार्फत गरेको लगानीबाट समेत आम्दानी गर्दै आएको छ। कोषको ठूलो रकम सेनाले निक्षेपका रुपमा ब्याङ्कमा राखेको छ। त्यसैगरी सेनाले कोषको रकम विद्यालय, कलेज, अस्पताल, मेडिकल कलेज, पेट्रोलपम्प, हाउजिङ लगायतमा लगानी गर्दै आएको छ।

सेनाले कोषको करीब रु.२ अर्ब रकम लगानी गरेर अस्पतालका लागि भन्दै बनाएको महांकाल काठमाडौंस्थित भवन पछिल्लो पटक वार्षिक ४९ करोड भाडा लिनेगरी व्यापारिक कम्प्लेक्स बनाएको छ। यो भवन ऐतिहासिक त्रिचन्द्र मिलिटरी अस्पताल भत्काएर बनाइएको हो।

प्रतिकृया दिनुहोस