समाचार शुक्रबार, साउन १६, २०७७

पक्राउ परे 'इनफ इज इनफ' का अभियन्ता

हिमालखबर

पक्राउ परे 'इनफ इज इनफ' का अभियन्ता
तस्वीर: युथ कङ्ग्रेस नेपालकाे ट्वीटबाट ।

प्रहरीले काठमाडौंका विभिन्न भागबाट 'इनफ इज इनफ' का अभियन्ताहरुलाई पक्राउ गरेको छ।

सरकारले कोरोनाभाइरस महामारीको व्यवस्थापन राम्ररी नगरेको विरोधमा वसन्तपुरमा अनसनरत ईः को स्वास्थ्य कमजोर हुँदै जाँदा सडक प्रदर्शन गर्ने तयारीमा रहेका अभियन्ताहरुलाई पक्राउ गरिएको हो । प्रदर्शन शुरु हुन नपाउँदै आफूहरुलाई सडकपेटीबाटै प्रहरीले पक्राउ गरेको अभियन्ता आलोक सुवेदीले बताए।

अहिले उनीसहित रञ्जु दर्शना, सौरभ न्यौपाने, नवराज उप्रेती, शशिविक्रम कार्की लगायतलाई पक्रेर प्रहरीले महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा राखेको छ । “हामीले प्रदर्शन शुरु गरेकै थिएनौं, सडकपेटीमा निषेधित क्षेत्र बाहिर हिंडिरहेको अवस्थामा उठाएर ल्याएको छ, पक्राउ गर्नुको कारण पनि केही दिइएको छैन”, सुवेदीले वृत्तभित्रैबाट टेलिफोनमा भने।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा आलोक सुवेदी, रञ्जु दर्शना लगायत । तस्वीर: आलोक सुवेदीको ट्वीट

मालीगाउँस्थित महानगरीय प्रहरी वृत्तमा पनि ३०/३५ जनाको संख्यामा अभियन्ताहरुलाई थुनिएको उनले बताए।

वसन्तपुरमा ईः ले १२ दिनदेखि भोक हडताल गरिरहेका छन्। उनीसँगै अनसनमा बसेका अन्य दुई जनाको स्वास्थ्य अवस्था बिग्रिएपछि उनीहरुलाई अस्पताल भर्ना गरिएको छ। ईः भने स्वास्थ्य अवस्था बिग्रिंदा पनि अनसन तोड्न र उपचारका लागि अस्पताल जान मानेका छैनन्। असार तेस्रो साता आफूहरुसँग भएको सहमति कार्यान्वयन गर्नुपर्ने उनीहरुको मुख्य माग छ ।

वसन्तपुरमा दैनिक १५० जना जतिले रिले अनसन गरिरहेका छन् भने राजनीतिक दलका नेता र नागरिक समाजका प्रतिनिधिहरु पनि वसन्तपुर पुगेर ऐक्यबद्धता जनाउँदै आएका छन्।

प्रतिकृया दिनुहोस