समाचार शुक्रबार, साउन १६, २०७७

कुवेतले अन्तर्राष्ट्रिय उडान खोल्ने, नेपालीलाई भने प्रवेशमा रोक

हिमालखबर

कुवेतले अन्तर्राष्ट्रिय उडान खोल्ने, नेपालीलाई भने प्रवेशमा रोक

कुवेत सरकारले १ अगष्टदेखि अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको छ। तर, नेपाली नागरिकलाई भने प्रवेशमा रोक लगाएको छ।

कुवेत सरकारले बिहीबार गरेको घोषणा अनुसार नेपालसहित दक्षिण एशियाका पाँच देशसहित इरान र फिलिपिन्सका नागरिकलाई प्रवेश रोक लगाइएको छ। दक्षिण एिशयाका नेपाल, भारत, पाकिस्तान, बाङ्लादेश र श्रीलंकाका नागरिकलाई प्रवेश रोक लगाइएको हो।

कुवेतले यी देशमा रहेका आफ्ना नागरिकलाई पनि तत्काल देश प्रवेशमा रोक लगाएको छ। यी सात देशबाहेकका आफ्ना नागरिकलाई मात्र भित्रिन छुट दिएको छ।

कुवेतमा हजारौँ नेपाली कामदार छन्। गत मे र जूनमा ३०० अलपत्र नेपाली फिर्ता भएका थिए। त्यहाँ कागजपत्र नभएका र समयावधिभन्दा बढी बसेका करीब सात हजार नेपाली भएको कुवेत सरकारले तथ्याङ्क सार्वजनिक गरेको थियो।

महामारीअघि छुट्टीमा नेपाल आएका कामदार फर्किन पाएका छैनन्। यस्ता कामदारहरुले रोजगार गुमाइरहेका छन्। नेपालीजस्तै प्रवेशमा रोक लगाइएका हजारौँ भारतीयको जागिर समाप्त गरिएको कुवेतमा रहेका इन्डियन कम्युनिटी सपोर्ट ग्रुपका अध्यक्ष राजपाल त्यागीलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ।

कुवेतले आफ्ना देशमा रहेका विदेशी शंकास्पद संक्रमितलाई भने चार्टर्ड उडानबाट पठाइरहेको छ। यसरी पठाइएकाहरुले पनि काम गुमाइरहेका छन्।

प्रतिकृया दिनुहोस