समाचार शुक्रबार, साउन १६, २०७७

कोरोना अपडेट: ‘इन्ट्री पोइन्ट टेष्ट’ मा ८४०१ जनाको स्वाब संकलन हुँदा ३४७३ जनाको मात्र परीक्षण

हिमालखबर

कोरोना अपडेट: ‘इन्ट्री पोइन्ट टेष्ट’ मा ८४०१ जनाको स्वाब संकलन हुँदा ३४७३ जनाको मात्र परीक्षण

सरकारले १५ साउनसम्म तीन वटा नाकाबाट भित्रिएका कुल ८४०१ जनाको स्वाब संकलन गरिएकोमा ३४७३ जनाको मात्र स्वाबको नमुना परीक्षण गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गएको शनिवारदेखि उपत्यका भित्रिने यात्रुहरूको नाकाबाटै स्वाबको नमुना संकलनको काम शुरु गरेको थियो। 

स्वास्थ्य मन्त्रालयले बिहीवार सार्वजनिक गरेको तथ्यांक अनुसार ‘इन्ट्री पोइन्ट टेष्ट’ अन्तर्गत स्वाब संकलन शुरु गरेको पाँच दिनमा ३४७३ जनाको नमुना परीक्षण गर्दा जम्मा २४ जनामा कोरोना संक्रमण भेटिएको जनाएको छ।

मन्त्रालय अन्तर्गत खटिएको टोलीले बिहीवारसम्म काठमाडौं भित्रिने नागढुंगा नाकाबाट ४७१० जनाको स्वाब संकलन गरेकोमा २३०२ जनाको परीक्षण गरिसकेको छ र तीमध्ये ३ जनामा मात्र कोरोना संक्रमण देखिएको छ।

फर्पिङ नाकाबाट भित्रिएका १२८२ जनाको स्वाब संकलन गरेको ७४१ जनाको मात्र स्वाब परीक्षण गरेको छ। र, तीमध्ये १० जनामा कोरोना संक्रमण भेटिएको छ।

त्यस्तै भक्तपुरको साँगाबाट २४०९ जनाको स्वाब संकलन गरेको छ र तीमध्ये ४३० जनाको स्वाब परीक्षण गर्दा ११ जनामा कोरोना संक्रमण देखिएको छ।

यसरी स्वास्थ्य मन्त्रालयले उपत्यका भित्रिने नाकाबाट पाँच दिनको अन्तरमा तीन वटा नाकाबाट ८४०१ जनाको स्वाब संकलन गरेकामा आधा भन्दा कम अर्थात तीन ३४७३ जनाको मात्र स्वाब परीक्षण भएको छ।

तर, उपत्यकामा दिन प्रतिदिन कोरोना संक्रमितको संख्यामा वृद्धि भएपछि बिहीवार साँझबाट लागू हुनेगरी नाकाहरूमा कडाइ गर्ने भएको छ। अबदेखि साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म उपत्यका प्रवेश क्षेत्रको आवागमनलाई पूर्णरुपमा बन्द गराएको छ भने दिउसोको समयमा हुने आवागमनमा पनि कडाइ गर्ने भएको छ।

यो पनि:

कोरोना संक्रमितको संख्या बढेपछि साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म उपत्यका प्रवेशमा रोक 

प्रतिकृया दिनुहोस