नेटवर्किङ व्यवसायबारे अध्ययन गर्न संसदीय उपसमिति गठन
प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले नेटवर्किङ व्यवसायका विषयमा अध्ययन गर्न उपसमिति गठन गरेको छ।
समितिको आज बसेको बैठकले सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा ५ सदस्यीय अध्ययन उपसमिति गठन गरेको हो। समितिका सदस्यहरूमा कृष्णकुमार श्रेष्ठ, अमृता अग्रहरी, प्रकाश रसाइली र सरिताकुमारी गिरी रहेका छन्।
उद्योग समितिका सभापति विमलप्रसाद श्रीवस्तवका अनुसार उपसमितिले १५ दिनभित्र सम्बन्धी निकाय, विभाग, मन्त्रालय र सम्बन्धीत व्यक्तिहरूसँग छलफल गरी आफ्नो रायसहितको प्रतिवेदन पेश गर्ने बताए।
समितिको बैठकमा सांसदहरूले वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन २०७४ अनुसार अनुमति पाएका कम्पनीहरू नेटवर्किङ व्यवसायकै रुपमा अगाडि बढेको भन्दै आपत्ति जनाएका थिए।
बैठकमा उपस्थित उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले नेटवर्किङ व्यवसाय र प्रत्यक्ष वस्तु बिक्री फरक भएको भन्दै अहिले दर्ता भएका कम्पनीले नेटवर्किङ व्यवसाय गरेको पाइएमा कुनै पनि हालतमा छुट नदिने बताए।