काेभिड-१९ बाट पर्सामा दुई सहित थप तीन जनाको मृत्यु, मृतक संख्या ५२ पुग्यो
पर्सामा दुई जना सहित एकै दिन कोभिड महामारीको संक्रमणबाट तीन जनाको मत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पर्सामा दुई र मोरङमा एक जनाको मृत्यु भएको जनाएको छ।
पर्साको वीरगञ्ज महानगरपालिकामा दुई पुरुषको १४ साउनमा मृत्यु भएको छ। वडानम्बर ५ का ६८ वर्षीय पुरुषको न्याशनल मेडिकल कलेजमा मृत्यु भएको थियो। ७ साउनमै संक्रमण पुष्टि भएका ती संक्रमितको नारायणी अस्पतालमा उपचार भइरहेको थियो।
तर, त्यहाँको आईसीयूबाट १३ साउनमा न्याशनल मेडिकल कलेज सारिएका ती संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। वीरगञ्ज–७ कै ७० वर्षीय पुरुषको पनि १४ साउनमै मृत्यु भएको छ। मुटु र मधुमेहका बिरामी ती बृद्ध ८ साउनमा नारायणी मेडिकल कलेज भर्ना भएका थिए। उनको उपचारकै क्रममा मृत्यु भएको छ।
अर्का मोरङका ४५ वर्षीय पुरुषको पनि संक्रमणबाट १४ साउनमै मृत्यु भएको छ। ज्वरो आउने र श्वासप्रश्वासमा समस्या देखिएका ती संक्रमितको धरानमा उपचार हुँदै गर्दा मृत्यु भएको हो।
विराटनगर कोभिड अस्पतालमा कोरोना संक्रमण पुष्टि भएका ती बृद्धलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आईसीयूमा राखेर उपचार हुँदै थियो। यो सँगै, कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ।
२७४ कोरोना संक्रमित थपिए, २२७ जना डिस्चार्ज
बिहीबार काठमाडौं उपत्यकामा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार, काठमाडौंमा ४१, ललितपुर र भक्तपुरमा दुई/दुई जनामा संक्रमण पुष्टि भएको छ।
यो सहित बिहीबार देशभर २७४ जना संक्रमित थपिएका छन्। काठमाडौं बाहेक पर्सामा १७ र धनुषामा १४ जना संक्रमित थपिएका छन्। बिहीबार थपिएको सहित संक्रमित संख्या १९ हजार ५४७ पुगेको छ। २४ घण्टामा ६ हजार ३०४ जनामा पीसीआर परीक्षण गरिएको थियो।
बितेको २४ घण्टामा २२७ जना संक्रमित निको भएर अस्पतालबाट घर फर्किएका छन्। यो सँगै डिस्चार्ज हुनेको संख्या १४ हजार २४८ पुगेको छ।
मन्त्रालयले अहिले देशभर पाँच हजार २२७ जना संक्रमित उपचारत रहेका छन्। १३ हजार २०१ जना क्वारेन्टिनमा छन्।