समाचार शुक्रबार, साउन १६, २०७७

गोविन्दराज जोशी भन्छन्- "योगदानका हिसाबले देउवा र पौडेलभन्दा म सिनियर हुँ"

हिमालखबर

गोविन्दराज जोशी भन्छन्- "योगदानका हिसाबले देउवा र पौडेलभन्दा म सिनियर हुँ"

पार्टीको अनुशासन समितिबाट कारबाहीमा परेका नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीले विरोधी कार्यकर्तालाई तर्साउन आफूलाई कारवाही गरिएको टिप्पणी गरेका छन्। 

आफ्ना मान्छेलाई पार्टीमा टिकट दिएर कार्यकर्तालाई रुवाउनु हुँदैन भन्ने आवाज उठाउने र अन्यायको विरुद्धमा बोल्नेहरूलाई तर्साउन आफूमाथि कारवाही भएको जोशीको भनाइ छ। नेता जोशीले पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको कदमका विरुद्धमा बोल्नेलाई तर्साउन आफूलाई कारवाही गरिएको बताए।

"मैले त अन्यायको विरुद्ध धेरै अगाडिदेखि बोलिराखेको छु। यिनीहरूलाई गोविन्दराज जोशीलाई अट्याक गरिसकेपछि अरूलाई तर्साउन सजिलो भयो," उनले भने।

नेता जोशीले आफूमाथि कारवाही गर्ने निर्णय र पार्टीमा केही मानिसहरूलाई प्रवेश गराउने कार्यले पार्टीभित्र इमान्दार र निष्ठावान कार्यकर्ताको उपस्थिति नहुने निश्चित भएको बताए।

उनले पार्टीका नेताहरूको स्वर्गारोहणको बेलामा मात्रै उपस्थिति जनाउन पाउने व्यक्तिलाई पार्टीभित्र प्रवेश गराइएकाले लामो समयदेखि योगदान दिएका इमान्दार कार्यकर्ताको आत्मसम्मानको अन्त्य भएको बताए।

यो विषयमा आवाज उठाउँदा पार्टी सभापति देउवा र वरिष्ठ नेता पौडेललाई बिझेकाले आफूमाथि कारवाही गरिएको बताए। 

पार्टीलाई केही मान्छेहरुको नियन्त्रण र गठबन्धनको गुटको रुपमा विकास गरिएको नेता जोशीले आरोप लगाए। "पार्टीलाई केही मान्छेहरू आफ्नो नियन्त्रणमा रहेकाकाे गठबन्धनको गुटको संगठन बनाउने बाटोमा गएका छन्। त्यसले अहिले सफल भएको देखिएला, अन्तत: पार्टीलाई राम्रो गर्दैन," उनले भने।

नेता जोशीले कांग्रेसमा न्याय हराएको टिप्पणी समेत गरे। न्याय विनाको निर्णयको विरुद्ध, प्रवृत्तिकाे विरुद्ध र न्याय विनाको निर्णय गर्ने पदाधिकारीहरूको विरुद्ध कार्यकर्ताहरू एक स्वरले उभिन नसक्दासम्म कांग्रेस जोगिन नसक्ने उनको भनाइ छ।

उनले पछिल्लो गतिविधि हेर्दा पार्टी पतनको बाटोमा गएको स्पष्ट भएको समेत बताए। उनले पार्टी सभापति देउवा र वरिष्ठ नेता पौडेलका पछि लाग्ने व्यक्तिमा अलिकति विश्वास नभए पार्टीमा टिकट नै नपाउने र पाएपनि भोट नहाल्न निर्देशन दिने गरिएको बताए।

पार्टीमा योगदान दिएको हिसाबले केन्द्रीय समितिमा आफूभन्दा सिनियर मान्छे कोही पनि नभएको दाबी नेता जोशीको छ। उनले कांग्रेसमा योगदान पुर्‍याएको हिसाबले सभापति देउवा र वरिष्ठ नेता पौडेल भन्दा आफू माथि रहेको बताए।

प्रतिकृया दिनुहोस