चेपाङ वस्तीमा भएको आगजनी विवादमा चितवन राष्ट्रिय निकुञ्जका वार्डेन विभागमा तानिए
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीलाई फिर्ता बोलाइएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग स्रोतका अनुसार वन तथा वातावरण मन्त्रालयले उनलाई विभागमा फिर्ता बोलाएको हो।
माडी नगरपालिकाको वार्ड नम्वर ९ स्थित् कुसुमखोलामा रहेका चेपाङको वस्तीमा आगो लगाएर भत्काएपछि रुपाखेती विवादमा आएका थिए। ३ साउनमा निकुञ्जले ७ वटा हात्ति लगाएर कुसुमखोलामा बस्दै आएका चेपाङ वस्ती भत्काउनुका साथै दुईवटामा घरमा आगजनी गरेको थियो।
उक्त घटनापछि वन तथा वातावरण मन्त्री शक्ति बस्नेतको आलोचना भएको थियो। विभिन्न संघसंस्था र पार्टी भित्रबाटै आलोचना भएपछि मन्त्री बस्नेतले कारवाही स्वरुप रुपाखेतीलाई प्रमुख संरक्षण अधिकृतबाट हटाएका हुन्।
रुपाखेतीको स्थानमा बर्दियाका अणनाथ बराललाई ल्याइएको छ। त्यसैगरी बर्दिया राष्ट्रिय निकुञ्जको प्रमुख संरक्षण अधिकृतमा विभागका सूचना अधिकारी एवम् योजना प्रमुख विष्णुप्रसाद श्रेष्ठलाई पठाइएको छ।
विभागमा तानिएका रुपाखेतीले फिर्ता बोलाउनु सामान्य प्रक्रिया भएको भएको बताए। “निजामति सेवामा काज खटाउने फिर्ता बोलाउने सामान्य कुरा हो,” उनले भने।