टिप्पणी विहीबार, साउन १५, २०७७

क्वारेन्टिनको अवस्थाले मानसिक स्वास्थ्य बिगार्‍यो

हिमालखबर

क्वारेन्टिनको अवस्थाले मानसिक स्वास्थ्य बिगार्‍यो
कपिलवस्तुको यशोधारा गाउँपालिका ५ मा सञ्चालित क्वारेन्टिन । तस्वीरः खगप्रसाद चापागाई

क्वारेन्टिनमा हामी आफू, आफ्नो परिवार र समाजलाई संक्रमणबाट जोगाउन बस्ने हो। त्यहाँ आधारभूत आवश्यकताका सुविधा हुनैपर्छ। तर, हाम्रा क्वारेन्टिन कोभिड-१९ फैलिने स्थान बने। त्यसले मानिसमा क्वारेन्टिनभित्रै संक्रमणको डर भयो। अनि डराउने, भाग्ने, झगडा गर्ने र आत्महत्या गर्नेसम्मका घटना भए।

- प्रा.डा. सरोजप्रसाद वझा

कोरोनासँग कोही मान्छे कत्ति पनि डराएका छैनन्, कोही बेस्सरी डराएका छन्। यो सचेतनाको कमीले गर्दा भएको हो। किनकि सबै मान्छेको एकै किसिमको मनोविज्ञान हुँदैन। कोही प्लेन चढ्दा डराउँछ त, कोही सर्प देखेर डराउँछ। मान्छेको प्रतिरोधी क्षमता फरक हुन्छ।

प्रा.डा. सरोजप्रसाद वझा

सरकारले क्वारेन्टिन निर्देशिकामा पनि क्वारेन्टिनमा बसेकालाई अनिवार्य मनोसामाजिक परामर्श उपलब्ध गराउनुपर्ने भनेको छ। उनीहरूलाई आवश्यक विभिन्न परामर्श दिने भनेको छ। क्वारेन्टिनमा रहेकालाई काउन्सिलिङ चाहिन्छ। अहिले कोभिड-१९ आएर मात्रै यो चाहिने भनिएको होइन।

काउन्सिलिङ हाम्रोमा नयाँ कुरा जस्तो भयो। स्कूल–स्कूलमा, घर–घरमा र समुदाय–समुदायमा पनि त काउन्सिलिङ चाहिन्छ। अन्तर्राष्ट्रिय रूपमा त यो सधैं भइरहने कुरा हो। यसको मतलब काउन्सिलिङको विषयमा हामीमा बुझाइको कमी र अनभिज्ञता देखियो। सर्वसाधारणमा मात्र होइन, नीतिगत तहमा बस्ने मानिसमा पनि यसबारे ज्ञानको कमी छ।

मनोसामाजिक परामर्श चाहिन्छ भनेर अरूको सैद्धान्तिक पक्ष नक्कल गर्न त सजिलो भयो। तर व्यवहारमा हामी चुक्यौं। क्वारेन्टिनमा बस्नेहरूलाई शुरूमै सामाजिक दूरी र त्यहाँको वस्तुस्थिति बुझाउन सक्नुपर्छ। किनकि त्यहाँ आएको व्यक्तिले आधारभूत सुविधा पनि नहोला भनेर कल्पना गर्न सक्दैन। तर, हाम्रा क्वारेन्टिन त कोभिड-१९ फैलिने स्थान बने। त्यसले मानिसमा क्वारेन्टिनभित्र नै संक्रमणको डर भयो। अनि डराउने, भाग्ने, झगडा गर्ने जस्ता घटना भए।

घर जान पनि नसक्ने, बाहिर जान पनि नसक्ने र भित्र पनि कोभिडको डर भएपछि मानिसमा तनाव बढ्नु स्वाभाविक हो। एउटा आधारभूत सुविधा सहितको संरचना चाहिनेमा त्यो छैन भनेपछि मान्छेलाई नकारात्मक प्रभाव पर्ने नै भयो।

घर जान पनि नसक्ने, बाहिर जान पनि नसक्ने र भित्र पनि कोभिडको डर भएपछि मानिसमा तनाव बढ्नु स्वाभाविक हो। एउटा आधारभूत सुविधा सहितको संरचना चाहिनेमा त्यो छैन भनेपछि मान्छेलाई नकारात्मक प्रभाव पर्ने नै भयो। व्यक्तिमा आ–आफ्नो लेबलको साइकोलोजी हुने भएकाले कसैले एउटै कुरालाई सहन सक्छ त कसैले त्यसलाई सहन नसक्ने पनि हुन्छ।


यो पनि पढ्नुहोस्—  क्वारेन्टिन र आइसोलेशनले बढाए थकान, तनाव, चिन्ता र रिस   -लक्ष्मी बस्नेत


तसर्थ, आत्महत्या गर्ने अवस्थामा पुग्न मानिसमा धेरै कारण जोडिंदै आइपुग्नुपर्छ। पारिवारिक, सामाजिक, आर्थिक कारण सहित मनोविज्ञानले मानिसलाई डिप्रेसनमा लैजान्छ। पहिलेदेखि नै मनोसामाजिक रोगहरू छ वा रक्सी सेवन गर्ने मानिस छ र त्यसमा माथि भनिएका कुराहरू थपिंदै गए भने कमजोर मन भएका मानिस क्वारेन्टिनबाट भाग्ने वा आत्महत्या गर्ने उपायबारे सोच्न थाल्छ।

हामीले के बुझ्नु आवश्यक छ भने क्वारेन्टिन जेल होइन। कम्तीमा त्यहाँ आधारभूत आवश्यकताका सुविधाहरू हुनुपर्छ। सामाजिक दूरी कायम राख्ने ठाउँ हुनुपर्छ। समयमा सुत्ने, समयमा उठ्ने, उठेपछि व्यायाम र योगहरू गराउने वातावरण हुनुपर्छ। केही न केहीमा ‘इन्गेज’ गराउने वातावरण बनाउनुपर्छ।

हामीले आफू, आफ्नो परिवार र समाजलाई सुरक्षित बनाउन क्वारेन्टिनमा बस्नु परेको हो भनेर बुझाउनुपर्छ। सबभन्दा ठूलो स्वास्थ्य हो। दुई हप्ता अनुशासित रूपमा बस्यो भने म र मेरो परिवार अनि समाजमा यो रोग फैलन नपाउने रहेछ भन्ने ज्ञान दिनुपर्‍यो। यति सिकाउन सकियो भने जो कोही मान्छे अनुशासित भइहाल्छ नि !

(त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थानका मानसिक विभाग प्रमुख प्रा.डा. वझासँगको वार्तामा आधारित)

प्रतिकृया दिनुहोस