फरार 'अर्बपति' नीरव मोदी लण्डनमा पक्राउ
फरार भारतीयमूलका आभूषण व्यवसायी नीरव मोदी बुधबार बेलायतमा पक्राउ परेका छन् ।
भारतको पञ्जाब नेशनल ब्याङ्कबाट १३ हजार करोड घोटाला गरेको आरोप लागेका मोदीलाई पक्राउ गर्न हालै लण्डनस्थित वेस्टमिंस्टर अदालतले वारेन्ट जारी गरेको थियो ।
भारतमा मुद्दा परेलगत्तै मोदीले देश छाडेका थिए । ४८ वर्षीय उनलाई पक्राउ गर्न इन्टरपोलले समेत सूचना जारी गरेको थियो । मोदी हाल बेल्जियमका नागरिक हुन् ।
मोदीलाई आज नै अदालतमा पेश गरिने भएको छ । अदालतले मोदीलाई त्यही मुद्दा चलाउने वा भारत सुपुर्दगी गर्ने बारे फैसला गर्नेछ ।
तर, अर्बपति ठानिएका मोदी जमानतमा रिहा हुने सम्भावना पनि उत्तिकै छ । यसअघि फरार अर्का व्यवसायी विजय माल्यलाई पनि दुई वर्ष अघि लण्डन प्रहरीले पक्राउ गरि जमानत दिएको थियो ।
नीरव मोदी ब्राण्डमार्फत मोदीले मुम्बई, हङकङ, मकाउ, लण्डन, न्यूयोर्कमा ठूला स्टोरहरु खोलेका थिए ।
मोदी फायरस्टार डायमन्ड कम्पनीका संस्थापक हुन्, जसले एक वर्षमै दुई सय करोड डलर बराबरको कारोबार गर्ने दाबी गरेको थियो । फोब्र्सका अनुसार, सन् २०१७ मा मोदीको कुल सम्पति १८० करोड डलर रहेको थियो ।
मार्च २०१८ मा मोदीलाई न्यूयोर्कमा बैंक ठगीको आरोपमा मुद्दा परेको थियो । -एजेन्सी