अर्थ/बजार विहीबार, साउन १५, २०७७

आन्तरिक स्रोतबाट सञ्चालित राष्ट्रिय गौरवका आयोजना अगाडि बढाउन वित्तीय चुनौती: अर्थमन्त्री खतिवडा

हिमालखबर

आन्तरिक स्रोतबाट सञ्चालित राष्ट्रिय गौरवका आयोजना अगाडि बढाउन वित्तीय चुनौती: अर्थमन्त्री खतिवडा

अर्थमन्त्री डा. युवराज खतिवडाले आन्तरिक स्रोतबाट सञ्चालित राष्ट्रिय गौरवका आयोजना अगाडि बढाउन वित्तीय चुनौती रहेको बताएका छन्। 

वैदेशिक सहायता प्राप्त नहुने र आन्तरिक स्रोतबाट जुटाउनुपर्ने आधा दर्जन बढी गौरवका आयोजना अगाडि बढाउन वित्तीय चुनौती रहेको अर्थमन्त्री खतिवडाको भनाइ छ।

संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको छलफलमा खतिवडाले आफ्नै स्रोतबाट निर्माण शुरु गरिएका आयोजनामा स्रोत जुटाउन कठिन भएको बताए। दातृ निकायहरूले लागत उठ्न लामो समय लाग्ने आयोजनाहरूमा लगानी नगर्ने भएकाले बजेट नहुने उनको भनाइ छ।

अर्थमन्त्री डा. खतिवडाले सञ्चालनमा रहेका आयोजनाहरूमा कोभिडका कारण बजेट भने अभाव हुन नदिने बताए। अन्य क्षेत्रबाट भए पनि स्रोत व्यवस्थापन गरेर व्यवस्थापन गरिने उनले बताए।

अर्थमन्त्री डा. खतिवडाले विदेशी सहायता आश्रित केही आयोजनाहरूमा समस्या हुने गरेको समेत बताए। उनीहरूले राख्ने गरेका शर्त पूरा गर्न सक्ने अवस्था सधैं नहुने भएकाले केही आयोजनाहरू कार्यान्वयनमा ढिलाइ हुने गरेको उनले स्पष्ट पारे।

डा. खतिवडाले एमसीसी अनुमोदनको विषय संसदमा विचाराधीन रहेकाले एमसीए नेपाल अन्तर्गतको काम प्रभावित भएको बताए। सरकारले अहिले आफ्नो खर्चले स्थानीय आवश्यक खर्च गरिरहेको भए पनि दाताले दिने रकमको टुंगो नभएको बताए।

उनले विदेशी सहायताका विषयहरूमा गम्भीर छलफल गरी अगाडि बढाउनुपर्ने बताए। एमसीसीको विषयमा अनुमोदन गर्ने नगर्ने विषयमा चाँडो निर्णय गरी अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए। एमसीसी अनुमोदन नभए सरकारले अन्य स्रोतबाट आयोजना अगाडि बढाउने उनको भनाइ छ।

एमसीसी परियोजनाको सहयोगमा सरकारले लप्सीफेदी-रातामाटे-हेटौंडा र लप्सीफेदी-रातमाटे-दमौली-बुटवल ४०० केभी क्षमताको अन्तरदेशीय प्रसारण निर्माणको योजना अगाडि बढाएको छ। एमसीसी संसदबाट अनुमोदन नभए सरकारले अन्य स्रोतबाट पूरा गर्ने यसअघि नै बताइसकेको छ।

प्रतिकृया दिनुहोस