विश्व स्तनपान सप्ताह मनाउन सबै स्थानीय तहलाई पत्रचार
यस वर्षको विश्व स्तनपान सप्ताह मनाउनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई पत्रचार गरेको छ।
“स्वस्थ्य र सुन्दर संसार, स्तनपान एकमात्र आधार” भन्ने नाराका साथ देशव्यापी रुपमा मनाउन १५ देखि २३ साउनसम्म (१-७ अगष्ट, २०२०) मन्त्रालयले स्थानीय तहहरूलाई पत्रचार गरेको हो।
स्तनपान सप्ताह मनाउनका लागि आवश्यक बजेट तर्जुमा गर्न समेत पत्रमा उल्लेख गरिएको छ। सोही शीर्षकबाट खर्च गर्ने गरी यस वर्षको स्तनपान सप्ताह मनाउनको लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै प्रदेश तथा स्थानीय तहहरूमा परिपत्र भएको छ।
मन्त्रालयले पत्राचारसँगै ‘विश्व स्तनपान सप्ताह सम्बन्धी सञ्चालन निर्देशिका’ समेत पठाएको छ। निर्देशिकामा स्तनपानको महत्वबारे आम जनसमुदाय तथा सरोकारवालाहरू माझ चेतना अभिवृद्धि गराउने उद्देश्य रहेको उल्लेख गरिएको छ।