देशका विभिन्न ठाउँमा अत्यधिक वर्षा, कर्णाली नदीले पार गर्यो सतर्कता तह
कर्णाली र सुदूरपश्चिम प्रदेशमा अत्यधिक वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कैलालीको टीकापुरमा पछिल्लो २४ घण्टामा २७३.४ मिलिमिटर वर्षा मापन गरिएको छ।
त्यसैगरी कर्णालीको चिसापानीमा २६०.८ मिलिमिटर वर्षा भएको छ। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा भने गत २४ घण्टामा १४३.६ मिलिमिटर वर्षा भइरहेको छ। अहिले पनि ती स्थानमा पानी परिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
अत्यधिक वर्षाले कर्णाली नदीले सतर्कताको तह पार गरेको छ। जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार कर्णाली नदीको चिसापानीस्थित स्वचालित बाढी मापनयन्त्रले कर्णाली नदीमा १०.४ मिटर देखाएको छ। चिसापानीमा कर्णाली नदीले १० मिटर पार गरेपछि सतर्कतातह पार गरेको मानिन्छ। उक्त स्थानमा १०.८ मिटर पार गर्नु खतराको स्थिति हो। बाढी पूर्वानुमान महाशाखाका अनुसार अहिले कर्णालीमा पानीको सतह स्थिर रहेको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति सूदूरपश्चिम प्रदेशका साथै प्रदेश नम्बर ५, प्रदेश नम्बर १ का तराईका जिल्लामा भारी वर्षाको सम्भावना रहेको छ।
त्यसैगरी बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षा हुनसक्छ। “अब केही ठाउँमा भारी वर्षा हुने र केही ठाउँमा कम पानी र सुक्खा हुने सम्भावना छ,” मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मिनकुमार अर्यालले भने “जहाँ वर्षा हुने त्यहाँ बाढी पहिरो नै आउने त्यहाँ सुक्खा हुने हुन्छ, मौसम अलि आइसोलेटेड छ।”