नेपालको भारतीय पक्षलाई जवाफ– ‘लिम्पियाधुरा नेपाली भूमि हो, आवत–जावत स्वाभाविक’
लिम्पियाधुरा सहितको भूभागमा नेपालीहरुको आवात–जावातबारे भारतीय पक्षले पठाइएको पत्रको नेपाली पक्षबाट जवाफी पत्र पठाइएको छ। दार्चुला जिल्ला प्रशासनले सीमावर्ती धारचुला प्रशासनलाई जवाफी पत्र पठाएको हो।
गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले परराष्ट्र मन्त्रालयसँगको समन्वयमा जवाफी पत्र पठाइको बताए। उनले भने, “भारतीय पक्षले पठाएको पत्रबारे गृह मन्त्रालयमा छलफल भयो र परराष्ट्र मन्त्रालयसँगको परामर्शमा जवाफ पठाइएको छ।”
गृह मन्त्रालयको निर्देशनमा दार्चुला प्रशासनले लिम्पियाधुरा, कुटि, नावी, गुञ्जी, कालापानी र लिपुलेक लगायत क्षेत्रहरु नेपालको भएको प्रष्ट पारेर पत्र लेखेको छ। दार्चुला प्रशासनले महाकाली पूर्वका भूभाग नेपालको भएकाले नेपालीहरु आवत–जावत गर्नु स्वभाविकै भएको उल्लेख गरेको छ।
गएको ३० असारमा दार्चुला प्रशासनलाई पत्र लेख्दै नेपालीहरु लुकिछिपी लिम्पियाधुरासम्म पुग्ने गरेको र यसले दुवै तर्फका प्रशासनलाई अप्ठ्यारो पर्ने भन्दै सूचना गरिदिन भनेको थियो। तर, नेपाली पक्षले आफ्नो भूमिमा नेपाली जान सक्ने भएकाले त्यहाँ अप्ठ्यारो वा बाधा हुन नहुने जवाफ पठाएको छ।
लिम्पियाधुरा सहितको भूभाग समेटेर नेपालले नक्सा जारी गरिसकेको छ। उक्त नक्सा संविधान संशोधन मार्फत् संविधानको अंग समेट बनिसकेको छ। तर, सीमावर्ती प्रशासन धारचुलाले आफ्नो क्षेत्र भएको दावी सहित नेपालीलाई प्रवेश रोक लगाउनेगरी पत्र लेखेको थियो।