खेलकुद बुधबार, साउन १४, २०७७

सन्दीप लामिछाने सीपीएल खेल्न भोलि चार्टर्ड उडानबाट जाने पक्का

हिमालखबर

सन्दीप लामिछाने सीपीएल खेल्न भोलि चार्टर्ड उडानबाट जाने पक्का

क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न सन्दीप लामिछाने बिहीबार बिहान १० बजे वेष्ट इन्डिजका लागि प्रस्थान गर्ने भएका छन्। सरकारले सहजीकरण गरेपछि उनी जाने पक्का भएको हो।

सन्दीपका व्यवस्थापक रमण सिवाकोटीका अनुसार उनी बिहीबार बिहान १० बजे कोरियन एयरलाइन्सको चार्टर उडानबाट जानेछन्। अमेरिका हुँदै उनी लिग हुने देश ट्रिनिडाड एण्ड टोबागो पुग्ने छन्। सन्दीप १ अगष्ट (शनिबार) त्यहाँ पुग्नेछन्।

सीपीएल आयोजक र उनको टीम जमैका तालावाहले सबै खेलाडीलाई शनिबारसम्म आइपुग्न भनेको थियो। सन्दीप आयोजकले भनेकै दिन पुग्ने भएका हुन्। खेलअघि सबै खेलाडी अनिवार्य १४ दिनको क्वारेन्टिनमा बस्नुपर्छ। सीपीएल १८ अगष्टदेखि शुरु हुँदैछ।

कोरोनाभाइरस महामारी रोकथामका लागि नेपाल सरकारले बन्दाबन्दी घोषणा गरेपछि नियमित अन्तर्राष्ट्रिय उडान बन्द छन्। नेपालले १ भदौबाट मात्र उडान नियमित गर्ने भएपछि सन्दीप सीपीएल खेल्न जान नपाउने आशंका गरिएको थियो।

उनका व्यवस्थापक सिवाकोटीसहितले पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराई र खेलकुद मन्त्री जगत विकलाई भेटेर सहजीकरणका लागि आग्रह गरेका थिए।

सन्दीप जमैका तालावाहका मार्की खेलाडी पनि हुन्। उनी १ लाख ३० हजार अमेरिकी डलर (करीब रु.१ करोड ५६ लाख) मा अनुबन्ध भएका छन्। यो रकम कुनै पनि फ्रेन्चाइज लिगमा उनले पाएको सबैभन्दा बढी हो।

प्रतिकृया दिनुहोस