ट्विटरले डोनाल्ड ट्रम्पका छोरालाई लगायो १२ घन्टाको प्रतिबन्ध
ट्विटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा ट्रम्प जुनियरलाई ट्विट गर्न १२ घन्टाको प्रतिबन्ध लगाएको छ। उनले कोरोनाभाइरस निको पार्न राष्ट्रपति ट्रम्पले सिफारिस गरेको औषधि हाइड्रोक्सिक्लोरोक्विनका फाइदा उल्लेख भएको भिडियो सेयर गरेपछि ट्विटरले प्रतिबन्ध लगाएको हो।
राष्ट्रपति ट्रम्पले मलेरियाका बिरामीका लागि प्रयोग हुने उक्त औषधिले कोरोनाभाइरसका बिरामीलाई फाइदा पुग्ने बताउँदै आएका छन्। तर, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले उक्त औषधि प्रयोग नगनै चेतावनी दिइसकेको छ।
हिजै मात्र पनि यो औषधि कोरोनाभाइरसका बिरामीलाई फाइदा पुग्ने भए पनि आफूले सिफारिस गरेकै कारण अस्वीकार गरिएको बताएका थिए। उनले औषधिका यस्ता फाइदा बताएका थिए, जुन अनुसन्धानबाट पुष्टि भएकै छैन।
ट्विटरका अनुसार ट्रम्प जुनियरले त्यही औषधिलाई लिएर गलत सूचना दिने भिडियो सेयर गरेका थिए। उनलाई ट्विट, लाइक र रिट्विट गर्न प्रतिबन्ध लगाइए पनि ट्विटर ‘ब्राउज’ गर्न र सन्देश पठाउन सक्नेछन्।
राष्ट्रपति ट्रम्पले पनि उक्त भिडियो रिट्विट गरेका थिए। ट्विटरले सो भिडियो हटाएको जनाएको छ।
एजेन्सीहरुको सहयोगमा