कोरोना अपडेट: मंगलबार उपत्यकामा थपिएका ६१ जना संक्रमितमध्ये ३२ जना प्रहरी प्रधान कार्यालयका
मंगलबार साँझसम्म उपत्यकामा अहिलेम्मकै सबैभन्दा धेरै ६१ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार चार बजे प्रेस ब्रिफिङमार्फत पछिल्लो २४ घण्टायता उपत्यकामा ५३ जना कोरोना संक्रमित भेटिएको बताएका थिए।
स्वास्थ्य मन्त्रालयले दिउसो दुई बजेसम्म आउने तथ्यांकलाई प्रेस ब्रिफिङमार्फत सार्वजनिक गर्दै आइरहेको छ। तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा(ईडीसीडी)का अनुसार मंगलबार साँझसम्मको तथ्यांक अनुसार उपत्यकामा थप ८ जनासहित ६१ जनामा कोरोना संक्रमण भेटिएको छ।
ईडीसीडीका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तम कोइरालाका अनुसार मंगलबार दुई बजे सम्मको रेकर्ड अनुसार ५३ जना संक्रमित भेटिको र साँझसम्म ८ जना थपिएका हुन्।
सबैभन्दा धेरै संक्रमित प्रहरी
६१ मध्ये सबैभन्दा बढी ३२ जना प्रहरी अधिकारीमा कोरोना संक्रमण देखिएको छ। कोइरालाका अनुसार ३२ जना सबै प्रहरि अधिकारी प्रहरि प्रधान कार्यालय नक्सालमा कार्यरत छन्।
केही दिअघि प्रहरी प्रधान कार्यालयका एक जना हवल्दारमा कोरोना संक्रमण देखिएको थियो। ईडीसीडीका निर्देशक डा. वासुदेव पाण्डेका अनुसार ती प्रहरी हवल्दार केही समयअघि उपत्यका बाहिरको जिल्लाबाट आएको र उनैले अरू थप प्रहरी अधिकारीलाई सारेको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ।
उनले यसबारे कन्ट्याक्ट ट्रेसिङ भइरहेकाले उक्त काम सकिएपछि मात्र संक्रमणको आधिकारिक स्रोत खुल्ने बताए। ती हवल्दारको सम्पर्कमा आएका थप तीन जनामा पनि कोरोना संक्रमण देखिएको थियो।
चारै जनाको सम्पर्कमा आएकाहरूको खोजी गर्दा मंगलबार थप ३२ जना प्रहरीमा कोरोना संक्रमण भेटिएको ईडीसीडीका वरिष्ठ जनस्वास्थ्य अधिकृत कोइरालाले जानकारी दिए।
चिनियाँ नागरिकमा पनि संक्रमण भेटियो
३२ जना प्रहरी अधिकारी बाहेक काठमाडौं बस्ने दुई जना चिनियाँ नागरिकमा पनि कोरोना संक्रमण भेटिएको छ। कोरोना परिक्षण गरेर चीन फर्किन लाग्दा उनीहरूमा संक्रमण पत्ता लागेको हो।
ईडीसीडीका अनुसार बाँकी २७ जना संक्रमितहरू सबै उपत्यका बाहिरबाट आएकाहरू हुन्। यीमध्ये कोही पाटन, कान्ति बाल अस्पताल र त्रिवि शिक्षण अस्पतालमा उपचाररत बिरामीहरू छन्।
बन्दाबन्दी खुलेपछि उपत्यका भित्रिएका र बन्दाबन्दी खुल्नु केही दिनअघि काठमाडौं भित्रिएका २७ जना व्यक्तिमा संक्रमण पाइएको हो।
उपत्यका बाहिरबाट आएका संक्रमितहरूमध्ये सबैभन्दा बढी तराईका विभिन्न जिल्लाबाट आएकाहरू छन्। ईडीसीडीका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तम कोइराला अहिलेसम्म उपत्यकामा देखिएको कोरोना संक्रमणको स्रोत बाहिरबाट आउनेहरू नै भएको र स्थानीय स्तरमा संक्रमण नफैलिएको बताउँछन्।