समाचार मंगलबार, साउन १३, २०७७

पोस्टपेडमा पनि अब रिचार्ज कार्डमै स्वामित्व शुल्क, टेलिकमले ग्राहकलाई दियो सूचना

हिमालखबर

पोस्टपेडमा पनि अब रिचार्ज कार्डमै स्वामित्व शुल्क, टेलिकमले ग्राहकलाई दियो सूचना

सरकारले चालू आर्थिक वर्ष २०७७/७८ देखि सबै प्रकारका मोबाइल फोनको रिचार्ज कार्डमा स्वामित्व शुल्क लिन थालेको छ । उक्त शुल्क हरेक मोबाइल रिचार्ज गर्दा ग्राहकले तिर्नुपर्ने शुल्कबाटै काटिने छ । ग्राहकले रु.१०० को रिचार्ज गर्दा २ प्रतिशत कटाएर नै टेलिकम कम्पनीले रिचार्ज दिने गरेका छन्।

नेपाल टेलिकमका सहप्रवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार यस अघि प्रिपेड मोबाइलमा मात्रै लाग्ने यस्तो शुल्क अब पोस्टपेडमा पनि लाग्ने थालेको हो । सोही शुल्क लाग्ने जानकारी टेलिकमले आफ्ना ग्राहकलाई एसएमएस मार्फत दिएको छ । टेलिकमले पोस्टपेड मोबाइल प्रयोगकर्तालाई १३ साउनमा स्वामित्व करको सूचना दिएको हो।

मोबाइल टेलिफोनको प्रत्येक रिचार्ज र भुक्तानीमा आर्थिक ऐनले नै उक्त स्वामित्व शुल्क तोकेको छ । सो शुल्क घटाएपछि वास्तविक भुक्तानी रकम हुने जानकारीसहितको सूचना टेलिकमले आफ्ना पोस्टपेड मोबाइल प्रयोगकर्तालाई दिएको हो।

यस अघि प्रिपेड सिमकार्ड लिंदा स्वामित्व शुल्क लाग्दैनथ्यो भने हरेक रिचार्जमा २ प्रतिशतले उक्त शुल्क काटिंदै आएको थियो। अब भने पोस्टपेड मोबाइलका ग्राहकले पनि प्रिपेडमा जस्तै हरेक रिचार्जमा नै उक्त शुल्क तिर्नुपर्ने व्यवस्था भएको नेपाल टेलिकमका प्रवक्ता राजेश जोशी बताउँछन्।

यस अघि पोस्टपेड मोबाइलको सिम लिंदा मात्रै रु.४४५ यस्तो स्वामित्व शुल्क वापत लाग्थ्याे। १ साउन २०७७ देखि भने सिमकार्ड लिंदा स्वामित्व शुल्क नलाग्ने र हरेक रिचार्जमा प्रिपेड सरहकै शुल्क लाग्ने भएकाले हाल रु.५ सयमै पोस्टपेडको सिमकार्ड वितरण भइरहेको पनि टेलिकमका प्रवक्ता जोशी बताउँछन्।

ग्राहकबाट असुल गरिएको स्वामित्व शुल्क सेवाप्रदायकले प्रत्येक महीनाको २५ गतेभित्र सरकारको राजस्व खातामा दाखिला गर्नुपर्ने व्यवस्था गरिएको छ । यसरी शुल्क दाखिला नगरेमा सेवाप्रदायकबाट वार्षिक १५ प्रतिशत ब्याज सहित असुल गरिनेछ।

प्रतिकृया दिनुहोस