व्यक्तित्व शनिबार, साउन १७, २०७७

राष्ट्रिय क्रिकेट टीमका प्रशिक्षक जो प्रतिबन्धित टीमका खेलाडी थिए

मुकेश पोखरेल

राष्ट्रिय क्रिकेट टीमका प्रशिक्षक जो प्रतिबन्धित टीमका खेलाडी थिए
तस्वीरहरुः मुकेश पोखरेल

वीरगञ्जमा २०४२ सालमा भएको राष्ट्रिय खेलकुदमा क्रिकेटतर्फ तेस्रो स्थानका लागि लुम्बिनी र नारायणी अञ्चल प्रतिस्पर्धामा थिए। रन आउटका विषयमा विवाद भएपछि लुम्बिनीले खेल बहिष्कार गर्‍यो। यही कारण टीम प्रतिबन्धमा पर्‍यो।

लुम्बिनीका उपकप्तान थिए, जंगबहादुर थापा। खेल बहिष्कार नगर्न क्रिकेट एशोसिएसनका पदाधिकारीले धेरै सम्झाए। “मभन्दा सिनियर दाइहरूले धाँधली भयो, खेल बहिष्कार भन्दै मैदान छोडेपछि कसैले सम्झाएर पनि काम लागेन। हामी सबै बाहिरियौं। तर, त्यो लुम्बिनीका लागि प्रत्युत्पादक बन्यो”, उनी भन्छन्।

अर्को दिनको गोरखापत्रमा लुम्बिनी अञ्चललाई दुई वर्षसम्म कुनै पनि राष्ट्रिय प्रतियोगिता खेल्न नपाउने गरी प्रतिबन्ध गरिएको सूचना प्रकाशित भयो। त्यसपछि लुम्बिनीको क्रिकेट टीमले दुई वर्षसम्म राष्ट्रियस्तरका प्रतियोगिता खेल्न पाएन। स्थानीयस्तरमै खेलेर चित्त बुझाउनुपर्‍यो।

जंगबहादुरले त्यो स्थानसम्म पुग्न गरेको संघर्ष खेर गयो। सीमापारि भारतको नौतनवामा जन्मिएका जंगबहादुर थापा क्रिकेट खेल्न भैरहवा र बेलहियाका मैदान आउँथे। अनि साँझ फर्किएर भारत नै पुग्थे। २०३० को दशकमा यो क्रम निकै समय चल्यो।

उनका बाबु खाम्चाबहादुर थापा भारतीय गोर्खा सैनिक थिए। जंगबहादुरले ९ कक्षासम्म नौतनवामा नै पढे। तर, पढ्नमा कम र क्रिकेट खेल्नमा ज्यादा रुचि राख्थे।

पढाइ छाडेर क्रिकेट खेल्न जाँदा उनले घरमा गाली र पिटाइ खानुपथ्र्यो। उनी भन्छन्, “क्रिकेटमा नशा बसिसकेको थियो। भागेर क्रिकेट खेल्न नेपाल जाँदा बाबुले पाँच पटकसम्म नराम्रो गरी कुट्नुभयो।” तर, उनले खेल्न छाडेनन्। अनि परिवारले पनि खेल्ने स्वतन्त्रता दियो।

उनको खेल देखेर बेलहिया कुखुरी क्लबले आफ्नो टीममा राख्यो। उनले स्थानीयस्तरमा आयोजना हुने प्रतियोगितामा भाग लिन पाए। २०४० सालमा पोखरामा भएको राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि उनी लुम्बिनी अञ्चलको क्रिकेट टीममा परे। तर, पहिलो खेलमा नै उनको टीम जनकपुर अञ्चलसँग पराजित भयो।

त्यतिबेला लुम्बिनी अञ्चल भनेपछि क्रिकेटमा एकदमै कमजोर टीम मानिथ्यो। नारायणी, वागमती र कोशी बलिया टीम थिए। २०४२ सालमा थापा दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगितामा लुम्बिनी अञ्चलबाटै खेल्न वीरगञ्ज पुगे।

लुम्बिनी अञ्चलले आफूलाई सुधार गरेको थियो। लुम्बिनीले सेती अञ्चललाई पराजित गरेर सेमिफाइनलमा वागमतीसँग खेल्यो। उक्त खेलमा हारेपछि तेस्रो स्थानका लागि नारायणी अञ्चलसँग भएको खेलमा विवाद भयो। उनको लक्ष्यमा ठूलो बाधा उत्पन्न भयो।

राष्ट्रिय टीमको चाहना प्रशिक्षक भएर पूरा

उनका बाबुले पेन्सन पाइसकेका थिए। तर, त्यसबापत आउने पैसा बिरामी बाबुको उपचारमा नै सकिन्थ्यो। उनको पढाइ ९ कक्षामा नै टुङ्गिएको थियो। उनी २६ वर्षको हुँदा परिवारसँगै बसाइँ सरेर नेपाल आए र बेलहिया बस्न थाले।

जंगबहादुर थापा।

उनी लुम्बिनी क्रिकेट टोलीको कप्तान भइसकेका थिए। २०४६ सालमा लुम्बिनी अञ्चलले नै राष्ट्रिय प्रतियोगिताको आयोजना गर्‍यो। प्रतिबन्धपछि पहिलोपटक खेल्न पाएको लुम्बिनीले तेस्रो स्थान हासिल गर्‍यो। २०४८ सालमै भएको अर्को प्रतियोगितामा लुम्बिनीको टीम फेरि सेमिफाइनलमै हार्‍यो। २०५१ सालमा धनगढीमा भएको प्रतियोगितामा भने उपाधि जित्यो। २०५४ सालपछि भने उनले खेलाडीको रूपमा संन्यास लिए।

त्यसपछि उनको यात्रा राष्ट्रिय खेलकुद परिषद्को क्रिकेट प्रशिक्षकको रूपमा शुरू भयो। उनले सिंगापुर र मलेशियामा प्रशिक्षक प्रशिक्षण कोर्स ‘लेभल वान’ र ‘लेभल टु’ पूरा गरे। यो क्रिकेटका प्रशिक्षकलाई दिइने तालिम हो।

उनी पहिलो पटक नेपाली टीम लिएर सन् २००४ मा हङकङ गए। प्रथम श्रेणीको क्रिकेट खेल्न गएको टोलीको उनी सहायक प्रशिक्षक थिए। सन् २००६ मा बहिरा क्रिकेट टीमको मुख्य प्रशिक्षक भएर पाकिस्तान गए। त्यस्तै २००७ मा मुख्य प्रशिक्षकको रूपमा महिला टोली लिएर मलेशिया गए। खेलाडीको रूपमा राष्ट्रिय टीमबाट खेल्ने चाहना पूरा नभए पनि उनले प्रशिक्षक भएर पूरा गरे।

उनी देशभित्र हुने प्रतियोगिता कम हुँदा र खेलकुद मैदानको अभावमा नेपाली खेलाडीले प्रगति गर्न नसकेको बताउँछन्। “महिला क्रिकेट प्रतियोगितामा हामीले २००७ मा हराएका चीन, थाइल्याण्ड, हङकङका टीमहरूसँग अहिले हाम्रा खेलाडी पराजित भएका छन्”, उनी भन्छन्, “हामीलाई खेल अभ्यासको कमी छ।”

अवकाशपछि खेलाडी उत्पादनमा

क्रिकेट प्रशिक्षकका रूपमा २३ वर्ष राष्ट्रिय खेलकुद परिषद्मा विताएका थापाले उमेर हदका कारण गत फागुनमा अवकाश पाए। अहिले उनी गृह जिल्ला रूपन्देही फर्किएका छन्। परिवारका साथ सिद्धार्थ नगरपालिका–१ बेलहियामा बस्छन्।

राखेपबाट अवकाश पाए पनि उनको योजना भने अझै केही समय क्रिकेटको विकास र प्रवद्र्धनमा खर्चने छ। ५९ वर्षीय थापा खेलाडीदेखि प्रशिक्षक भएर काम गरेको अनुभव जिल्लाको क्रिकेट विकासमा लगाउने योजनामा छन्। अब क्रिकेट खेलाडी उत्पादन गर्ने अभियानमा लाग्ने उनी बताउँछन्।

तर, खेलाडीलाई टिकिराख्न गाह्रो भएको थापाको भनाइ छ। उनी भन्छन्, “पहिला भन्दा अहिले खेलाडीहरूलाई राम्रो सुविधा छ। तर, भत्ता र सुविधाले मात्र खेल विकास हुँदैन। नियमित अभ्यासका लागि उपयुक्त खेल मैदान र राष्ट्रियस्तरका प्रतियोगिता नियमित हुनुपर्छ।”

प्रतिकृया दिनुहोस