वेष्ट इन्डिजलाई इङ्ल्याण्डविरुद्ध बराबरी गर्न वर्षाको भर!
इङ्ल्याण्डले दिएको ३९९ रनको लक्ष्य पछ्याउने क्रममा तेस्रो दिनको अन्तिम सत्रमा ब्याटिङ शुरु गर्दा वेष्ट इन्डिजले १० रनमा नै दुई विकेट गुमाइसकेको छ। हिजो चौँथो दिन पानीले पूरै खेल अवरुद्ध गरेपछि इङ्ल्याण्डविरुद्धको टेष्ट सिरिजमा वेष्ट इन्डिजलाई राहत मिलेको छ।
लक्ष्य पछ्याउने क्रममा दोस्रो इनिङको दोस्रो ओभरदेखि नै वेष्ट इन्डिजले विकेट गुमाएको थियो। दोस्रो ओभरमा जोहन क्याम्बेल र चौँथो ओभरमा केमार रोच बाहिरिए। तर, चौँथो दिनको पूरै दिन वर्षा भएपछि वेष्ट इन्डिजको संभावित हार एक दिन पर धकेलिएको छ।
अब सिरिज जोगाउन पाचौँ दिन वर्षा नभएर वेष्ट इन्डिजले ९८ ओभर टिक्नुपर्नेछ। उसलाई लक्ष्य पार गर्न भने सजिलो छैन। त्यसैले वर्षा रोकिएर खेल नियमित भए वेष्ट इन्डिजले बराबरीको प्रयास गर्नेछ। यस्तोमा वर्षा जारी रहनु वा कम्तीमा आधा दिनको खेल बिथोलिनु वेष्ट इन्डिजलाई सिरिज बराबरीको मौका हुन्छ।
पहिलो इनिङमा इङल्याण्डले ३६९ रन बनाएको थियो भने वेष्ट इन्डिजले १९७ रन मात्र बनाउन सकेको थियो। दोस्रो इनिङमा इङल्याण्डले २२६/२ मा इनिङ समाप्त गरेर वेष्ट इन्डिजलाई ३९९ रनको लक्ष्य दिएको थियो।
तीन टेष्टको सिरिज अहिले एक एकको बराबरीमा छ। पहिलो टेष्टमा वेष्ट इन्डिज विजयी भएको थियो भने दोस्रो टेष्टमा इङ्ल्याण्डले बाजी मारेको थियो। यी दुई देशबीचको टेष्ट कोरोनाभाइरस महामारीपछिको पहिलो अन्तराष्ट्रिय क्रिकेट प्रतियोगिता हो।