समाचार मंगलबार, साउन १३, २०७७

भारतसँगको सीमामा आवतजावत खुकुलो बनेपछि बढ्यो संक्रमणको जोखिम

मुकेश पोखरेल

भारतसँगको सीमामा आवतजावत खुकुलो बनेपछि  बढ्यो संक्रमणको जोखिम
रुपन्देहीको बेलहिया नाका ।

दुई महीनाअघिसम्म भारतका विभिन्न स्थानबाट घर फर्कने सयौं नेपालीहरु सीमाक्षेत्रमा रोकिनुपर्थ्यो । कोरोनाभाइरस संक्रमण रोकथामका लागि सरकारले बन्दाबन्दी लागू गरेर सीमाक्षेत्रमा कडाइ गरेको थियो । घर फर्कन उनीहरुले भारतीय क्वारेन्टिनमा १४ दिन बस्नुपर्थ्यो।

अहिले भने भारतबाट नेपाल भित्रिन चाहनेहरु सहजै आउन पाउँछन् । त्यहाँ कोरोना संक्रमण अनियन्त्रित रहेको वेला निर्बाध रुपमा आउने क्रमले नेपालमा संक्रमणको जोखिम बढाएको छ । पछिल्ला दिनमा सीमावर्ती नेपाली क्षेत्रमा कोरोना संक्रमित बढ्नु र समुदाय स्तरमा संक्रमणको आशंका गरिनुले त्यही जोखिमको संकेत गर्छ । वीरगञ्ज महानगरपालिकामा संक्रमित बढेपछि समुदायमा संक्रण फैलिएको आशंका १० साउनमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ।

रुपन्देहीको बेलहिया नाकाबाट पनि नेपाल भित्रिनेहरुको संख्या उल्लेखनीय छ । इलाका प्रहरी कार्यालय बेलहियाका अनुसार, अहिले भारतबाट दैनिक १५० देखि २०० जना नेपाली आइरहेका छन्।

समुदायमा संक्रमणको त्रास

अहिलेसम्म नेपालमा पुष्टि भएका कोरोना संक्रमितमध्ये झण्डै ९७ प्रतिशत भारतसहितका तेस्रो मुलुकबाट आएका व्यक्तिहरु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित भेटिएकामध्ये भारतबाट आएकाहरुको संख्या ९० प्रतिशतभन्दा बढी भएको आकलन गरिएको छ।

जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डे पनि अहिलेसम्म नेपालमा कोरोनाको मुख्य स्रोत भारत भएको बताउँछन् । विगतमा कोरोना संक्रमितमा लक्षण नदेखिने गरेकोमा पछिल्लो १५ दिनमा भेटिएका संक्रमितहरुमा भने लक्षण देखिन थालेको छ।

डा. पाण्डेका अनुसार, नेपालको सीमावर्ती उत्तर प्रदेश, विहारमा कोरोना संक्रमितमा देखिएका लक्षण वीरगञ्ज, सप्तरी, र इनरुवा लगायत स्थानमा भेटिएका संक्रमितसँग मिल्दोजुल्दो पाइएको छ । भारतका सीमावर्ती क्षेत्रबाट नेपाल प्रवेश गरेका व्यक्ति वा ओहोरदोहोर गर्ने व्यक्तिबाट नेपालमा कोरोना संक्रमण बढेको उनको तर्क छ।

वीरगञ्जमा कोरोना परीक्षणका लागि स्वाब संकलन गरिंदै । तस्वीर: एस उपाध्याय

मुख्य नाकाभन्दा अन्य नाकाबाट हुने वारपार रोक्न एक किलोमिटरको फरकमा सशस्त्र प्रहरीको पोष्ट राखिएको छ । तर, सबै ठाउँमा प्रभावकारी देखिएको छैन।

आफ्नो नाम उल्लेख गर्न नचाहने सशस्त्र प्रहरीका एक प्रहरी उपरीक्षकले मुख्य नाकाभन्दा अन्यत्रको आवतजावतलाई रोक्न सक्ने अवस्था नरहेको बताउँछन् । “मुख्य नाकामा त कडाइ गरिन्छ, तर मानिसहरु खोला, खेतबाट लुकेर वारिपारि गरिहाल्छन्,” उनी भन्छन्।

जनस्वास्थ्य विज्ञ डा. पाण्डे सीमा क्षेत्रबाट हुने आउजाउ पूर्णरुपमा नरोके अवस्था भयावह हुनसक्ने देख्छन् । नेपालसँग सीमा जोडिएका उत्तर प्रदेश, विहार र पश्चिम बंगालमा संक्रमितहरुको संख्या बढिरहेको र त्यहाँ सुरक्षा जाँचको अवस्था सुस्त भएकाले सीमामा कडाइ नगरे त्यसको प्रभाव नेपालमा पर्ने उनी बताउँछन्।

हुन पनि, अहिले भारतमा दैनिक सरदर ३५ हजार संक्रमित थपिने गरेका छन् । सोमबार त एकैदिन ५० हजार नयाँ संक्रमित भेटिएका छन् । आइतबारसम्म पश्चिम बंगालमा संक्रमितको संख्या ५६ हजार ३७७ पुगेको छ भने उत्तर प्रदेशमा ४३ हजार ७४२ र विहारमा ३६ हजार ६०४ संक्रमित भेटिएका छन्।

जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डे सीमा क्षेत्रबाट हुने आउजाउ पूर्णरुपमा नरोके अवस्था भयावह हुनसक्ने देख्छन् । नेपालसँग सीमा जोडिएका उत्तर प्रदेश, विहार र पश्चिम बंगालमा संक्रमितहरुको संख्या बढिरहेको र त्यहाँ सुरक्षा जाँचको अवस्था सुस्त भएकाले सीमामा कडाइ नगरे त्यसको प्रभाव नेपालमा पर्ने उनी बताउँछन्।

सीमा पारिबाट आएका व्यक्तिहरुका कारण कोरोना संक्रमितको संख्या बढ्न थालेपछि प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतले सीमानाकामा थप कडाइ गर्न तीन वटै सुरक्षा निकायलाई निर्देशन दिएका छन्।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थ भने भारतबाट आउनेहरुबाट संक्रमण नसरोस् भनेर सुरक्षा मापदण्ड अपनाइएको बताउँछन्।

पन्थका अनुसार, नेपाल प्रवेश गर्ने बित्तिकै प्रहरीले उनीहरुको नाम दर्ता गर्छ र सीमा क्षेत्रमा रहेको नेपाली सेनाले ज्वरो र सामान्य स्वास्थ्य चेक जाँच गर्छ। "त्यसपछि उनीहरुलाई होल्डिङ सेन्टरमा लगिन्छ र सेनाले सम्बन्धित पालिकामा खबर गरेर पुर्‍याउने व्यवस्था मिलाइन्छ”, पन्थ भन्छन्, “पालिकामा गएर व्यक्तिले १४ दिन क्वारेन्टिनमा बस्नुपर्छ।"

उद्योग तथा कलकारखानाका लागि भारतबाट कामदार वा प्राविधिक ल्याउँदा नेपालको गृह मन्त्रालयले जारी गरेको पासका आधारमा आउन पाउने प्रजिअ पन्थले बताए।


'लक्षण देखिएका संक्रमितबाट कोरोना सर्ने सम्भावना बढी हुन्छ'

डा. रविन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

अहिले भारतका यूपी र विहारमा लक्षणसहितका कोरोना संक्रमितहरु बढेका छन् । ठ्याक्कै त्यस्तै लक्षण भएका संक्रमितहरु हाम्रो विराटनगर र राजविराजमा देखिएका छन्।

लक्षण नदेखिंदा संक्रमण सर्ने सम्भावना निकै कम हुन्छ । किनभने उसले खोक्दैन, हाछ्यूँ गर्दैन । लक्षण देखिएको संक्रमित व्यक्तिले भने धेरै खोक्ने र हाछ्यूँ गर्ने भएकाले भाइरस सर्ने सम्भावना बढी हुन्छ।

नेपालमा कोरोनाका दोस्रो संक्रमित देखिंदा शुरु भएको बन्दाबन्दी (लकडाउन) १८ हजार केस हुँदा अन्त्य गरियो । के कारणले बन्दाबन्दी गरेका थियौं र के कारणले टुंग्यायौं भन्ने आधार देखिंदैन । हामीले अत्यन्त हतारमा बन्दाबन्दी गर्‍यौं र हतारमा अन्त्य गर्‍यौं।

यही स्थिति रहन दिने हो भने अब समुदायमा भित्रभित्रै संक्रमण फैलिन सक्छ । त्यस्तो स्थिति आयो भने मुलुकको स्वास्थ्य पूर्वाधारले थेग्न सक्दैन । सरकार एकदमै गम्भीर हुनुपर्ने देखिन्छ।

सरकारले दैनिक १८ हजार नमूना परीक्षण गर्न सक्ने क्षमता छ भने पनि त्यति परीक्षण भइरहेको छैन । किन परीक्षण ३ हजारको हाराहारीमा मात्र सीमित भइरहेको छ ? दैनिक ३ हजार परीक्षण गरेर हामी कोरोनाबाट मुक्त भयौं भन्ने भ्रम पाल्न हुँदैन।

अर्कातिर, कुन ठाउँ वा क्षेत्रमा परीक्षण गर्ने भन्ने पनि निर्धारण गरिएको छैन । परीक्षण गर्ने ठाउँबारे मापदण्ड बनाउन जरुरी छ । फोहोर संकलन गर्ने, कवाड संकलन गर्ने व्यक्तिहरु र ठूल्ठूला चोकहरुमा परीक्षण गर्नुपर्छ । अहिले काठमाडौंका महाराजगञ्ज, असन लगायत स्थानमा संक्रमित भेटिएका छन्।

पहिला त भारतबाट आएका व्यक्तिहरु क्वारेन्टिनमा बसेका थिए, तिनीहरुको परीक्षण गर्दा हुन्थ्यो । अब चाहिं संक्रमित कहाँ छन् भनेर परीक्षणको दायरा फराकिलो बनाएर खोज्नैपर्छ । खासगरी भारतसँग सिमाना जोडिएका जिल्ला, पहिला संक्रमण देखिएका स्थान र घना बस्ती भएका शहर परीक्षणको दायराभित्र पर्नुपर्दछ। हप्ता वा दश दिन समय दिएर व्यापक परीक्षण गरियो भने जोखिमका हिसाबले रेड जोन, एलो जोन, ग्रीन जोनमा छुट्याउन सक्छौं र त्यसले हामीलाई धेरै कुरा सजिलो हुन्छ।

साथै, बन्दाबन्दी अन्त्य हुँदैमा अब संक्रमणको जोखिम पनि सकियो भन्ने आम मानसिकता देखिन्छ । मास्क लगाउने क्रम घट्नु त्यसैको उदाहरण हो । यसलाई निरुत्साहित गर्न मास्क लगाउनेलाई कारबाही वा जरिवानाको व्यवस्था गरिहाल्नुपर्छ।

प्रतिकृया दिनुहोस