खेलकुद सोमबार, साउन १२, २०७७

सन्दीप लामिछाने चार्टर्ड उडानबाट सीपीएल खेल्न जाने

हिमालखबर

सन्दीप लामिछाने चार्टर्ड उडानबाट सीपीएल खेल्न जाने
तस्वीर: हाम्राे खेलकुद डटकम

नेपालका लेग स्पिनर सन्दीप लामिछाने चार्टर्ड उडानबाट क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न जाने भएका छन्।

सीपीएलमा कीर्तिमानी रकममा अनुबन्धित सन्दीपलाई सरकारले चार्टर्ड उडानमार्फत् पठाउने भएको हो।

“मन्त्रालयले चार्टर्ड उडानबाट पठाउने भनेको छ। कहिले र कुन उडान भन्ने दुई/तीन दिनभित्र टुंगो लाग्छ”, सन्दीपका व्यावस्थापक रमण  शिवाकोटीले भने।

बन्दाबन्दीका कारण अन्तर्राष्ट्रिय उडान नहुँदा सन्दीपले सीपीएल खेल्नेबारे अन्योल भएको थियो। तर, युवा तथा खेलकुद मन्त्रालय र पर्यटन मन्त्रालयले विदेशमा रहेकाहरुलाई उद्धारका लागि गरिने चार्टर उडानमै सन्दीपलाई ट्रिनिडाड एण्ड टोबागाे पठाइदिने भएकाे छ।

“यताको समस्या रहेन, चार्टर्ड उडानबाट जाने निश्चित भयो। तर, आयोजकको तर्फबाट केही प्रक्रिया बाँकी छ”, शिवाकोटीले भने।

२ भदौंबाट शुरु हुने लिगका लागि सन्दीप १७ साउनमा त्यहाँ पुगिसक्नुपर्छ। त्यहाँ पुगेपछि १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने भएकाले सीपीएल खेल्नेबारे नै अन्योल भएको थियो।

सन्दीपलाई जमैका तलावाहसले एक लाख ३० हजार अमेरिकी डलर (रु.एक करोड ५६ लाख) मा अनुबन्ध गरेको छ।

पहिलो र दोस्रो सिजन सीपीएल खेलिसकेका सन्दीप टीमका मार्की खेलाडी पनि हुन्।

प्रतिकृया दिनुहोस