थप समाचार आइतबार, साउन ११, २०७७

मणिपुरबाट उद्धार गरिएका महिलाहरूको पारिवारिक पुनर्मिलन

हिमालखबर

मणिपुरबाट उद्धार गरिएका महिलाहरूको पारिवारिक पुनर्मिलन
माइती नेपालको सुरक्षित आवास गृहमा बसेकाहरु (तस्विर : माइती नेपाल)

भारतको मणिपुरबाट उद्धार गरिएका १८ जना महिलालाई परिवारिक पुनर्मिलन गराइएको छ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ३० असारमा २१ जनालाई भारतस्थित नेपाली दूतावास, नेपाल प्रहरी, मानव बेचबिखन अनुसन्धान ब्यूरो र गैरसरकारी संस्था माइती नेपालसँगको समन्वयमा उद्धार गरेको थियो।

भारतको मणिपुर हुँदै विभिन्न देशमा लगिन लागेका २१ जना महिलाहरूलाई ९ महिना भारतकै विभिन्न आश्रयस्थलमा राखिएको र प्रक्रिया पुर्‍याएर नेपाल ल्याएपछि १४ दिन क्वारेन्टिमा राखेर पारिवारिक पुनर्मिलनमा लगाइएको मन्त्रालयले जनाएको छ।

उनीहरूमध्ये १४ जनालाई परिवारकै सदस्यहरूको जिम्मा लगाइएको हो भने केहीलाई सम्बन्धीत स्थानीय तहका वडाध्यक्षको रोहबरमा घर पुर्‍याउने गरी पठाइएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङका प्रेस सल्लाहकार सन्तोष खड्काले जानकारी दिए। ती सबैजनालाई स्वास्थ्य मापदण्ड अनुसार १४ दिन क्वारेन्टिनमा राखेर घर परिवारसँग सम्पर्क गरी घर पुर्‍याउने व्यवस्था गरिएको उनको भनाइ छ 

नेपाल फर्किएकामध्ये प्रदेश १ र २ का ८ जना झापा र अन्यलाई माइती नेपालको काठामाडौंस्थित सुरक्षित आवासगृहको क्वारेन्टिनमा राखिएको थियो।

बाँकी तीन जना काठमाडौंस्थित माइती नेपालको आवासगृहमै रहेको र आफन्तसँग सम्पर्क भएपछि घर पठाइने मन्त्रालयले जानकारी दिएको छ।

२१ जना महिला अवैधानिक रुपमा भारतको बाटो हुँदै खाडी मुलुकमा घरेलु कामदारको रुपमा लैजाने क्रममा मणिपुर प्रहरीले पक्राउ गरेपछि नेपाल ल्याउने प्रक्रिया पुर्‍याउन समय लाग्दा ९ महिना भारतमै बस्नु परेको थियो।

उद्धार गरिएका २१ जनामध्ये १७ जना यसअघि पनि कुवेत, ओमन, दुबइ लगायतका देशहरूमा घरेलु कामदारको रुपमा गएर फर्किएको र नेपाल सरकारले खाडी मुलुकमा घरेलु कामदार जान रोक लगाएपछि उनीहरू अवैधानिक बाटोबाट म्यानमार हुँदै खाडी मुलुक जान लाग्दा पक्राउ परेका हुन्।

 

प्रतिकृया दिनुहोस