समाचारबुधबार, ६ चैत्र , २०७५

जलवायु परिवर्तनले धेरै पानी, धेरै खडेरी

रासस

जलवायु परिवर्तन मुलुकको गम्भीर समस्याको रूपमा देखिँदै गएको सराेकारवालाहरुले बताएका छन् ।

नेपाल राष्ट्रिय जल तथा मौसम सप्ताह–२०७५ का अवसरमा गरिएको छलफलमा वक्ताहरुले जलवायु परिवर्तनका कारण मुलुकमा तापक्रम बढ्दै जाँदा गम्भीर समस्याको रूपमा देखिएकाे बताएका हुन् ।

जल तथा ऊर्जा आयोगका सहसचिव डा ऋषिराम शर्माले पानी धेरै पर्नु वा धेरै खडेरी पर्नु जलवायु परिवर्तनको मुख्य लक्षण भएको बताए । “जलवायु परिवर्तनका कारण प्रतिवर्ष शून्य दशमलव ०५६ सेल्सियस तापक्रम बढ्दै गएको छ”, उनले भने । जलवायु परिवर्तनका कारण हिमतालहरुमा पानीको सतह बढ्दो क्रममा रहेको उनको भनाइ थियो ।

‘स्मल अर्थ नेपाल’का अनुसन्धानकर्ता पियुष दाहालले तापक्रम बढ्नु र सुक्खा क्षेत्र बढ्नु जलवायु परिवर्तनको कारण भएको बताए । “जलवायु परिवर्तनका कारण पछिल्लो समय मुलुकमा वर्षा कम हुँदै गएको छ”, उनले भने ।

नेपाल राष्ट्रिय जल तथा मौसम सप्ताहका संयोजक महेन्द्रबहादुर गुरुङले राज्यको सचेतना बढाउन, चुनौतीको बारेमा छलफल गर्न, सरकारी तथा गैरसरकारी निकायसँग समन्वय र सहकार्य गर्न सप्ताह मनाइएको जानकारी दिए ।

नेपाल वातावरण पत्रकार समाजका अध्यक्ष सुवोध गौतमले नेपाली सञ्चारमाध्यममा वातावरण प्रदूषण र जलवायु परिवर्तनका बारेमा कलम चलाउने पत्रकार कमी रहेको उल्लेख गरे ।

उनले नेपाली सञ्चारमाध्यममा राजनीतिक मुद्दाले प्राथमिकता पाएको वर्तमान अवस्थामा वातावरणका मुद्दालाई राजनीतिसँग जोडेर लेख्न पत्रकारलाई सुझावसमेत दिए ।

सरकारले विश्व पानी दिवस तथा विश्व मौसम दिवसका अवसरमा यही चैत ३ गतेदेखि नेपाल राष्ट्रिय जल तथा मौसम सप्ताह–२०७५ अन्तर्गत विभिन्न कार्यक्रम गरी मनाउँदै आएको छ । 

प्रतिकृया दिनुहोस