थप समाचार शनिबार, साउन १०, २०७७

चीनको लागि जासुसी गरेको अभियोगमा सिंगापुरका एक नागरिक अमेरिकामा दोषी ठहर

हिमालखबर

चीनको लागि जासुसी गरेको अभियोगमा सिंगापुरका एक नागरिक अमेरिकामा दोषी ठहर

अमेरिका र चीनबीच पछिल्लो समय विभिन्न विषयमा तनाव बढिरहँदा यसमा अर्को नयाँ घटना जोडिएको छ। अमेरिकामा चीनको जासुसका रुपमा काम गर्दै आएको भन्दै सिंगापुरका एक व्यक्तिलाई दोषी ठहर्‍याइएको छ।

शुक्रबार अमेरिकाको एक संघीय अदालतले सन् २०१५ देखि १९ सम्म चीनको एजेन्टका रुपमा गैरकानूनी काम गरेको भन्दै जुन वेई येओ नाम गरेका व्यक्तिलाई दोषी ठहर गरेको हो।

अमेरिकी अधिकारीहरुका अनुसार, उनी अमेरिकामा राजनीतिक कन्सल्टेन्सी चलाइरहेका थिए र यसै मार्फत महत्वपूर्ण सूचनाहरु चीनको गुप्तचर एजेन्सीलाई पठाइरहेका थिए । उनलाई सन् २०१९ मा पक्राउ गरिएको थियो।

यस बाहेक, अमेरिकाले चीनका एक अनुसन्धानकर्तालाई पनि पक्राउ गरेर हिरासतमा लिएको छ । ३७ वर्षीय जुआन टाङलाई चिनियाँ सेनासँगको आफ्नो सम्बन्ध लुकाएको अभियोग लगाइएको छ।

यसअघि अमेरिकाले जुआनलाई सन फ्रान्सिस्कोस्थित चिनियाँ दूतावासले शरण दिएर राखेको आरोप लगाएको थियो । त्यस लगत्तै जुआनलाई क्यालिफोर्नियाबाट हिरासतमा लिइएको थियो।

बौद्धिक सम्पदा चोरेको भन्दै अमेरिकी प्रशासनले ह्यूस्टन (अमेरिका) मा रहेको चिनियाँ वाणिज्य दूतावास बन्द गर्न आदेश दिएपछि दुवै देशबीच तनाव बढ्दै गएको छ । उक्त वाणिज्य दूतावासमा आगजनी गरेर बन्द गराइएपछि रुष्ट भएको चीनले जवाफी कारबाही स्वरुप आफ्नो मुलुकको सिचुवान प्रान्तस्थित छन्तुमा रहेको अमेरिकी वाणिज्य दूतावास बन्द गर्न हिजो बिहान अमेरिकालाई ७२ घण्टे अल्टिमेटम दिएको छ।

अमेरिकाले चिनियाँ कूटनीतिज्ञहरुलाई ह्यूस्टन छाड्न ७२ घण्टाको समय दिएको थियो, जुन शुक्रबार नै सकिइसकेको छ।

अमेरिकी विदेश मन्त्री माइक पम्पियोले चीनले बौद्धिक सम्पदा 'चोरी गरिरहेकाले' संघीय अदालतले यस्तो फैसला गरेको बताएका छन्।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले भने अमेरिकाको यो कदमलाई 'चीन विरोधी झूटको गोलमाल' को संज्ञा दिएका छन्।

अमेरिका र चीनबीच कैयौं विषयमा तनाव बढ्दै गएको छ । राष्ट्रपति ट्रम्पको प्रशासन चीनसँग कुनै न कुनै मुद्दामा बारम्बार भिडिरहेको छ । व्यापार, कोरोनाभाइरस  महामारी, हङकङमा चीनले लागू गरेको विवादित सुरक्षा कानून लगायत मुद्दामा अमेरिकाले अड्को थापेको थियो। - बीबीसी

प्रतिकृया दिनुहोस