थप समाचार शनिबार, साउन १०, २०७७

जनैपूर्णिमाको अवसरमा लाग्ने गोसाइँकुण्ड मेला यो वर्ष स्थगित

रासस

जनैपूर्णिमाको अवसरमा लाग्ने गोसाइँकुण्ड मेला यो वर्ष स्थगित
फाइल तस्वीर

जनैपूर्णिमा पर्वका अवसरमा हरेक वर्ष लाग्ने गोसाइँकुण्ड मेला यसपटक स्थगित भएको छ। यो वर्ष १५ साउनमा पर्ने पुत्रदा एकादशीदेखि १९ साउनसम्म जनैपूर्णिमा विशेष धार्मिक मेला लाग्ने थियो।

गोसाइँकुण्ड क्षेत्र विकास समितिका अनुसार कोभिड–१९ को सङ्क्रमण रोक्न मठमन्दिरमा भेला हुन नदिने सरकारको निर्णयलाई पालना गर्दै मेला स्थगित गरिएको हो। समिति अध्यक्ष सञ्जीव डिएमले प्रेस विज्ञप्ति जारी गर्दै गोसाइँकुण्ड जाने यात्रुका लागि बास बस्न तयार गरिने अस्थायी छाप्रोलगायत सबै प्रकारका व्यवस्थापकीय कामसमेत बन्द गरिएको जनाएका छन्।

प्रत्येक वर्ष गङ्गा दशहरा पर्वमा १० दिन र जनैपूर्णिमा पर्वका अवसरमा पाँच दिन गोसाइँकुण्ड मेला लाग्ने परम्परा छ। कोरोना सङ्क्रमणका कारण गत जेठको दशहरा पर्वसमेत प्रभावित भएको थियो। अध्यक्ष डिएमले रोग नियन्त्रण भएपश्चात् समितिको तर्फबाट धार्मिक क्षेत्रमा गर्नुपर्ने सेवा निरन्तर अगाडि बढ्ने जानकारी दिए।

प्रतिकृया दिनुहोस