खेलकुद शनिबार, साउन १०, २०७७

नेयमारले दिलाए पीएसजीलाई फ्रेन्च कपको उपाधि

हिमालखबर

नेयमारले दिलाए पीएसजीलाई फ्रेन्च कपको उपाधि

फ्रान्सको प्रमुख फुटबल प्रतियोगिता लिग वानको बिजेता पेरिस सेन्ट जर्मेन (पीएसजी)ले यस वर्षको फ्रेन्च कप (कप डे फ्रान्स) को उपाधिसमेत जितेको छ।

गएराति सम्पन्न फ्रेन्च कपको फाइनलमा ब्राजिलियन स्टार नेयमार प्रेरित पीएसजीले सिजनको दोस्रो उपाधि जितेको हो। पीएसजीले फाइनलमा सेन्ट इटिनीलाई १-o ले पराजित गरेको छ।

एक मात्र गोल नेयमारले १४ औं मिनेटमा गरेका थिए। तर, यो जित पीएसजीका लागि महंगो पर्न गयो।

खेल शुरु भएको आधा घण्टामै पीएसजीका फ्रेन्च स्टार किलियन एम्बाप्पे गम्भीर चोट बोकेर मैदानबाट बाहिरिए। इटिनीका कप्तान लोइक पेरिनले गरेको डरलाग्दो ट्याकलका कारण घुँडामा चोट बोकेका एम्बाप्पे रुँदै मैदानबाट बाहिरिएका थिए।

पेरिनलाई रेफ्रीले सिधै रातो कार्ड देखाएका थिए। खेल सकिँदा भने एम्बाप्पे दुइवटा वैशाखीको सहारामा सहकर्मीहरुसँग खुसी मनाउन आइपुगेका थिए।

एम्बाप्पको चोटले प्रशिक्षक थोमस टुचेलमाथि ठूलो तनाव थपिएको छ। पीएसजीले आउँदो १३ अगस्टमा यूरोपियन च्याम्पियन्स लिग अन्तर्गत् अन्तिम १६ को प्रतिस्पर्धामा एट्लान्टाको सामना गर्दैछ। एम्बाप्पे त्यो खेलसम्म फिट हुने वा नहुने निश्चित छैन।

प्रतिकृया दिनुहोस