थप समाचार शुक्रबार, साउन ९, २०७७

खोप परीक्षणका लागि वैज्ञानिकले बनाए कोरोना जस्तै भाइरस

हिमालखबर

खोप परीक्षणका लागि वैज्ञानिकले बनाए कोरोना जस्तै भाइरस

अमेरिकी अनुसन्धानकर्ताले प्रयोगशालामा 'जेनेटिकल्ली' परिवर्तन गरी नोभल कोरोना जस्तै भाइरस बनाएका छन्। यो भाइरस औषधि र खोप परीक्षणका लागि प्रयोग हुने जनाइएको छ।

यो भाइरसको नाम भेसिकुलर स्टोमेटाइटिस भाइरस (भीएसभी) हो। यसलाई भीएभी–सार्स–कोभ–२ भनिएको छ। यो वाशिङटन युनिभर्सिटी स्कुल अफ मेडिसिनले बनाएको हो। यो भाइरस कोरोनाभन्दा हलुका छ।

सेल होस्ट एन्ड माइक्रोब जर्नलमा प्रकाशित लेख अनुसार भीएसभीले महामारी फैलाउन सक्दैन। यसले मान्छेमा कोरोनाभाइरस विरुद्ध लड्ने एन्टीबडी उत्पादन गर्छ। अनुसन्धानकर्ताहरुका अनुसार यो भाइरसले स्वास्थ्य कोशिका संक्रमित गरेपछि शरीरमा बन्ने एन्टीबडीको मात्रा बढ्छ। यो प्रक्रिया कोरोनाभाइरसले शरीरमा आक्रमण गर्दा एन्टीबडी बन्ने प्रक्रिया जस्तै भएको वैज्ञानिकहरुको दाबी छ।

भीएसभी भाइरसको संक्रमणले हानि गर्दैन। किनभने यसमा कोरोनाभाइरसको प्रोटिन मात्र छ। बिरामीको लागि घातक हुने जिन छैन। यो भाइरसले मानव शरीरमा कोरोनाभाइरस विरुद्ध लड्ने एन्टीबडीलाई तयार अवस्थामा राख्छ। भविष्यमा यो भाइरस निकै उपयोगी हुने वैज्ञानिकहरुको दाबी छ।

वैज्ञानिकहरुले नयाँ भाइरस भीएसभीको बाहिरी भागको प्रोटिन हटाएर कोरोनाभाइरसको ‘स्पाइक’ प्रोटिन राखिदिएका छन्। अनुसन्धानकर्ताहरुका अनुसार, जुन एन्टीबडीले नयाँ भाइरसलाई रोकेको छ त्यसले कारोनाभाइरसलाई पनि रोक्न सक्छ। कुनै एन्टीबडीले प्रयोगशालामा बनेको भाइरसलाई रोक्न सकेन भने त्यसले कोरोनाभाइरसलाई पनि रोक्न सक्दैन ।

एक अनुसन्धानकर्ता सिएन वेलनका अनुसार यो भाइरस अनुसन्धानमा प्रयोग गर्नका लागि अर्जेन्टिना, मेक्सिको, ब्राजिल र क्यानडा पठाइएको छ। अमेरिकामा भने यसको प्रयोग गरेर विभिन्न अनुसन्धान थालिसकिएको छ।

-एजेन्सीहरुको सहयोगमा

प्रतिकृया दिनुहोस