थप समाचार विहीबार, साउन ८, २०७७

यस वर्ष छायाँनाथधाम यात्रा नहुने

हिमालखबर

यस वर्ष छायाँनाथधाम यात्रा नहुने
फाइल तस्वीर

हिन्दूहरुको प्रमुख तीर्थस्थल छायाँनाथ धाम र ऋणमोक्षधाम यात्रा यो वर्ष नहुने भएको छ।

सरकारले बन्दाबन्दी अन्त्य भएको घोषणा गरे पनि कोरोना संक्रमण नरोकिएकाले धार्मिक स्थलहरुमा विभिन्न ठाउँ तथा क्षेत्रहरुका भक्तालुहरुको भीडभाड हुने भएकाले तीर्थयात्रीलाई रोक लगाइएको हो।

कोरोना समुदाय स्तरसम्म फैलन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय मुगुले श्रावण महीनामा छायाँनाथ र ऋणमोक्षधाममा आउने भक्तालुलाई नपठाइदिन भन्दै जुम्ला, हुम्ला, डोल्पा, कालिकोेट, बाजुरा लगायतका प्रमुख जिल्ला अधिकारीहरुलाई पत्रचार गरेपछि यो वर्ष भक्तालुहरु छायाँनाथ जान नपाउने भएका हुन्।

बुधबार जिल्ला प्रशासन कार्यालय मुगुले जुम्ला, हुम्ला, डोल्पा, कालिकोेट र बाजुरा लगायतका जिल्ला प्रशासनका प्रमुख जिल्ला अधिकारीहरुलाई कोभिड–१९ संक्रमण फैलिने जोखिमलाई ध्यानमा राखी आवत–जावतलाई रोकिदिन भन्दै अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले जानकारी गराए।

मुगु जिल्लाको मुगुमकार्मारोङ्ग गाउँपालिकाको–१ डोल्फुमा रहेको छायाँनाथधाम र सोही जिल्लाकै छायाँनाथ रारा नगरपालिका–१३ मा रहेको ऋणमोक्षधाममा वर्षेनि साउन शुक्लपक्ष देखि पूर्णिमासम्म देशभित्रका र छिमेकी देश भारतबाट समेत हजारौं तीर्थयात्रुहरुको मेला लाग्ने गर्छ।

आफ्ना कुल देवताको शुद्धि गर्न, नयाँ धामी, झाँकी औवतार गर्न, आफूले चाहेको वर माग्न र पितृहरुको सम्झना गर्न यहाँ आउने बताइन्छ। सतीदेवीका बाँकी रहेका सबै अंग पतन भएको ठाउँ छायाँनाथधाम भएको हिन्दू धर्मावलम्बीहरु विश्वास गर्छन्।

यहाँ बाह्रै महीना हिउँ जम्ने भएकाले दैनिक पूजाआजाका लागि मूर्ति ११ महीना छायाँनाथ रारा नगरपालिका–२ चैनगाउँमा रहेका छायाँनाथ र ऋणमोक्ष मन्दिरमा राखिने गरिन्छ भने प्रत्येक वर्ष साउन महीनामा मात्र सुरक्षाकर्मी सहित (मूर्ति) छायाँनाथ र ऋणमोक्षधाममा लैजाने गरिन्छ।

अच्युतराज भण्डारी, मुगु

 

प्रतिकृया दिनुहोस