थप समाचार विहीबार, साउन ८, २०७७

पैसा नदिए अपहरण गरेर ज्यान मार्ने धम्की दिने दुईजना पक्राउ

हिमालखबर

पैसा नदिए अपहरण गरेर ज्यान मार्ने धम्की दिने दुईजना पक्राउ

पाँच लाख रुपैयाँ नदिए अपहरण गरी ज्यान मार्ने धम्की दिंदै आएका दुईजनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ।

सर्लाहीको रामनगर गाउँपालिका घर भई हाल रौतहटको गरुडा नगरपालिका ४ मा बस्दै आएका सर्लाहीको धनकौलस्थित प्राथमिक विद्यालयका प्रअ अशोक साहलाई पटकपटक मोबाइलमा पाँच लाख रुपैयाँ माग्दै आएका दुईजनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय गरुडाले बिहीबार सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा रौतहटको गढीमाई नपा ३ गम्हरिया घर भई चन्द्रपुर नपा १० बालचनपुरमा आकाश ग्रिल उद्योगका संचालक ३२ वर्षका जयकिशुन ठाकुर र सर्लाहीको धनकौल गापा ७ बैरिया घर भई रौतहटको चन्द्रपुर १० बालचनपुरस्थित वेलनेस पोलिक्लिनिकमा काम गर्ने २८ वर्षका मुकेश यादव रहेका छन्।

इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी ज्ञानकुमार महतोका अनुसार पक्राउ परेका दुवै जनालाई प्रअ साहसित पाँच लाख रुपैयाँ माग्दै आएका थिए।

पक्राउ परेका दुवैजनाले सर्लाहीको बरहथवा नपा ७ स्थित बजारमा एलपी ग्यास बिक्रेता रामदेव राय यादवसित पनि पन्ध्र लाख रुपैयाँ माग्दै आएको इप्रका गरुडाले जनाएको छ।

पक्राउ परेका दुवैजनाबाट मोटरसाइकल तथा विभिन्न कम्पनीका मोबाइल सिम, मोबाइल र केही थान नागरिकता बरामद भएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको इप्रका गरुडाका डीएसपी महतोले जनाएका छन्।

सञ्जय मित्र, रौतहट

 

प्रतिकृया दिनुहोस