कला/साहित्य शुक्रबार, साउन ९, २०७७

आफ्नै स्वरुपमा फर्किंदै ३५० वर्ष पुरानो रानीपोखरी

हिमालखबर

आफ्नै स्वरुपमा फर्किंदै ३५० वर्ष पुरानो रानीपोखरी
पर्सियाका राजकुमार वाल्देमरको भारत भ्रमण वर्ष १८४४-१८४६ मा तत्कालीन समयको रानी पोखरीको तस्वीर।

भूकम्पले भत्काएको पाँच वर्षपछि काठमाडौंको केन्द्रमा अवस्थित ३५० वर्ष पुरानो रानीपोखरीले आफ्नो पुरानो स्वरुप प्राप्त गर्दैछ। रानीपोखरीले बितेका शताब्दीहरूमा विभिन्न स्वरुपहरू पायो।

शुरुआतमा पर्सियाका राजकुमार वाल्देमर भ्रमणमा आउँदा जुन स्वरुप थियो त्यो परिवर्तन भयो। भूकम्पमा संरचना भत्किएपछि राणा प्रधानमन्त्री जंगबहादुरले उत्तरी भारतका मुगल शासकहरूको गुम्बज वास्तुकलाको शैलीमा यसलाई परिवर्तन गरे।

सन् १९३४ (१९९० साल) काे भूकम्पमा पुनः भत्किन पुग्यो र जुद्धशमशेरले यसको पुनर्संरचना गरे। सन् २०१५ (२०७२ साल) को भूकम्पले यसलाई पुनः भत्काइदियो।

 
सन् १९३४ को भूकम्पभन्दा अघिको घण्टाघर र रानीपोखरी। त्यतिवेलाको भूकम्पमा परेर १० हजार मानिसको मृत्यु भएको थियो। घण्टाघर र रानीपोखरी दुवै जंगबहादुर राणाले सन् १८६० मा पुनर्निर्माण गरेका हुन्।
 
त्यसपछि पुनर्निर्माण गर्दा काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले यसको वरिपरि क्याफे र पसलहरू खोल्ने र भाडामा दिने योजना बनाएका थिए। स्थानीयले विरोध गरेपछि उनको त्यो परियोजना रोकियो।

पोखरी निर्माणको जिम्मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले लियो र अहिले पुरानै स्वरुप प्राप्त गर्दैछ। बन्दाबन्दीका कारण ढिलाइ भए पनि यति वेला सम्म पुनर्निर्माणको कार्य अन्तिम अवस्थामा पुगेको छ।

रानीपोखरी तत्कालीन राजा प्रताप मल्लले सन् १६७१ मा रानी अनन्तप्रियाको लागि भनेर बनाएका थिए। उनका छोरा चक्रवर्तेन्द्र मल्लको अकस्मात निधन भएपछि रानी शाेकमा परिन्। रानीलाई उक्त शाेकबाट मुक्त गराउनका लागि राजाले छोराको सम्झनामा रानीपोखरी बनाएका थिए।

जुद्धशमशेरले सन् १९३४ मा पुनर्निर्माण गरेको मन्दिर, घण्टाघर र फलामको बार लगाइएको रानीपोखरी। 
राजा प्रताप मल्लले सन् १६७१ मा बनाएकै शैलीमा निर्माण भइरहेको रानीपोखरी र मन्दिर। तस्वीर: सुभेक्षा प्रधान तुलाधर
 
 
निर्माण कार्य अन्तिम अवस्थामा पुगेको रानीपोखरी। तस्वीर: सुभेक्षा प्रधान तुलाधर

निर्माण कार्य अन्तिम अवस्थामा पुगेको रानीपोखरीमा काम गर्दै श्रमिकहरू। तस्वीर: सुभेक्षा प्रधान तुलाधर

 

प्रतिकृया दिनुहोस