प्रिमियर लिगमा लिभरपुल र चेल्सी भिड्दै
इंग्लिस प्रिमियर लिगमा आज राति लिभरपुल र चेल्सीबीच प्रतिस्पर्धा हुँदैछ। लिभरपुलको घरेलु मैदान एन्फिल्डमा हुने यो खेल नेपाली समयअनुसार राति एक बजे शुरु हुनेछ।
लिभरपुलले जारी सिजनको लिग उपाधि जितिसकेको छ। त्यसकारण उसका लागि आजको खेल राम्रो प्रदर्शन गर्ने औपचारिकताभन्दा ज्यादा हुने छैन। तर, चेल्सीका लागि भने यो ठूलो महत्वको खेल हुनेछ। चेल्सी लिगको अंक तालिकामा तेस्रो स्थानमा छ।
चेल्सीको ६३ अंक छ भने चौथो र पाँचौं स्थानका लेस्टर सिटी र म्यानेचेस्टर सिटीको समान ६२ अंक छ।
लेस्टरले एक खेल बढी खेलेको छ। आउँदो वर्षको यूरोपेली च्याम्पियन्स लिगमा छनोट हुन चेल्सीलाई शीर्ष चारभित्र रहनैपर्ने हुन्छ।
त्यहीकारण योर्गन क्लोपको टीमभन्दा तुलनात्मक रुपमा खराब लयमा रहेको फ्रान्क लाम्पार्डको टीम एन्फिल्डमा जसरी पनि जीतको खोजीमा हुनेछ।
लिगमा अब दुई दुई वटा खेल बाँकी छन्। शीर्ष चारमा रहन चेल्सीले कम्तीमा एउटा खेल जित्नै पर्ने दबाब छ। चेल्सीले अन्तिम खेल भने आफ्नै मैदानमा उल्भरह्याम्पटनसँग खेल्नेछ।
म्यान्चेस्टर युनाइटेडले आजै राति वेस्ट ह्याम युनाइटेडसँग खेल्दैछ। लेस्टरले भने अब आफ्नो अन्तिम खेल म्यानचेस्टर युनाइटेडसँग खेल्नेछ।
गएराति सम्पन्न खेलमा डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले वाटफोर्डमाथि ४–० गोलको जित निकाल्यो। सिटीका रहिल स्टर्लिङले दुई गोल तथा फिल फोडेन र अमेरिक लापोर्टले एक एक गोल गरे। त्यसैगरी अर्को खेलमा आर्सनलले एस्टन भिल्लालाई १–० को नतिजा सुम्पियो।