थप समाचार बुधबार, साउन ७, २०७७

विस्तारपछि पनि नारायणगढ–मुग्लिन सडकको दुःख ज्यूँका त्यूँ (भिडिओ र तस्वीर)

हिमालखबर

विस्तारपछि पनि नारायणगढ–मुग्लिन सडकको दुःख ज्यूँका त्यूँ (भिडिओ  र तस्वीर)

राजधानी काठमाडौंसँग देशलाई जोड्ने मुख्य मार्ग नारायणगढ–मुग्लिन सडक खण्डको विस्तारपछि पनि पहिरोको दुःख अझै हटेको छैन।

विगतमा साँघुरो सडक र ठाउँठाउँमा खस्ने पहिरोले दुःख दिंदा सरकारले सडक विस्तार गर्ने योजना ल्याएको थियो।

सरकारले उक्त सडक विस्तार गर्ने काम गर्‍यो । सडक विस्तारसँगै पहिरो नियन्त्रणका काम पनि भए । तर, पनि पहिरो जाने र घण्टौं समस्या उत्पन्न हुने समस्या ज्यूँका त्यूँ छ।

सन् २०१५ बाट सडक विस्तार गरी अन्तर्राष्ट्रिय मापदण्ड अनुसार दुई लेनको सडक बनाइएको छ । दुई लेनको बनाउन ठाउँठाउँमा पहाड काटिएको छ । सडक विस्तारका काम सकिए पनि पहाड काटिएका ठाउँमा पहिरो जाने गरेको छ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इञ्जिनियर शिव खनाल भौगोलिक बनोटका कारणले पहिरोको समस्या समाधान हुन नसकेको बताउँछन्।

उनका अनुसार सडकबाट भौगोलिक अवस्था नहेरी सडक विस्तार गर्दा पहिरोको समस्या हुन्छ। उनले भने, “उक्त सडक खण्डमा धेरै खोल्साखोल्सी छन्। कमजोर भौगोलिक अवस्थामा पानीको मात्रा बढी हुँदा पहिरोको समस्या हुने गरेको छ। जलबिरेदेखि मुग्लिनसम्मको भागमा पहिरोको बढी जोखिम छ।”

सडक आयोजनाले उक्त सडक खण्डको ३१ ठाउँमा पहिरो रोक्ने काम गरेको छ। सडकखण्डको १५ किलो, १८ किलो, घुमाउने, भालुढुङ्गा, जलबिरे, टोपेखोला र कालिखोला नजिक पहिरो रोकथामको काम भइरहेको छ। नयाँ प्रविधिको उच्चतम प्रयोग गरेर ‘रकनेटिङ’, ‘बोल्टिङ’ र ‘बायो इञ्जिनियरिङ’ प्रविधिबाट पहिरो रोकथामको काम भएको उनले बताए।

भूगर्भविद् शिवकुमार बाँस्कोटाले सडक विस्तारका क्रममा धेरै पुराना पहिरो चलाएका कारण अहिले पनि पहिरो खसिरहेको बताए।

उनले भने, “धेरै वर्षअघिदेखि माटो बसेको ठाउँमा निकै भिरालो हुनेगरी पहाड काटिएको छ, पहिरो नगएको ठाउँमा पनि चलाइएको छ, वर्षायाममा पुरानो पहिरोमा पानी छिरेर बग्ने गरेको छ ।” यति धेरै पहिरो पहिले नखस्ने गरेको भन्दै उनले विस्तारपछि नै बढी पहिरो खसिरहेको बताए।

सोमबार बिहानदेखि गएको पहिरो ३६ घण्टापछि मङ्गलबार अपरान्हबाट एकतर्फी सञ्चालनमा आएको सडक फेरि रातिदेखि चट्टानसहितको पहिरोले अवरुद्ध छ। सडकखण्ड अन्तर्गत ठाउँठाउँमा साना पहिरो खसेका छन् । सामान्य अवस्थामा यो सडक हुँदै दैनिक १० हजार सवारी गुड्छन्।
राससकाे सहयाेगमा

प्रतिकृया दिनुहोस